सन्दीप लामिछाने प्रकरण : अदालतले दिएको तीनवटा आदेश के के हुन् ?
अखबार टुडे
प्रकाशित:
२०७९, १२ पुष

काठमाडौं, १२ पुस । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको जन्म भएको अस्पतालबाट कागजात झिकाउन अदालतले आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश हिमलाल बेल्बासेको इजलासले लामिछानेविरुद्ध जाहेरी दिने किशोरीको जन्म भएको भनिएको नारायणी अस्पताल वीरगञ्जबाट रेकर्डको कागजात झिकाउने आदेश दिएको हो ।

लामिछानेका वकिल सरोजकृष्ण घिमिरेका अनुसार जिल्ला अदालत काठमाडौंले मंगलबार तीनवटा आदेश गरेको छ । किशोरीको जन्म नारायणी अस्पताल वीरगञ्जमा भएको दावी गरिएको छ ।

सन्दीप पक्षका वकिलका अनुसार किशोरीको जन्म २०६१ साल जेठ १८ गते बिहान ६ बजे भएको थियो । त्यहाँ किशोरीको आमाको नाम उल्लेख गरिएको र छोरीको जन्म भएको भनेर उल्लेख गरिएको सन्दीप पक्षका वकिलले दावी गरेका छन् ।

मंगलबारकै आदेशमा किशोरीको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई पनि बकपत्रका लागि बोलाउने आदेश भएको छ । जाहेरीपछि किशोरीको स्वास्थ्य परीक्षण गर्ने डाक्टरले अब बकपत्रका लागि काठमाडौं जिल्ला अदालतमा आउनुपर्नेछ । त्यसैगरी किशोरी र सन्दीप लामिछाने दुवैका साथी भनिएका क्रिकेटर देव खनाललाई पनि बुझ्ने आदेश दिएको अधिवक्ता घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया