कार्यविधि विपरीत खटिएका सुरक्षाकर्मीलाई ४८ घण्टाभित्र फिर्ता बोलाउन गृहको निर्देशन
अखबार टुडे
प्रकाशित:
२०७९, १२ पुष

काठमाडौं, १२ पुस । गृह मन्त्रालयले कार्यविधि विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता बोलाउन मातहतका सुरक्षा निकायलाई निर्देशन दिएको छ ।

मंगलबार मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले एक विज्ञप्ति निकालेर विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ विपरीत निजी सुरक्षामा खटिएका सुरक्षाकर्मी ४८ घण्टाभित्र फिर्ता गर्न निर्देशन दिएको हो ।

गृह मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०७७ जारी भई हाल कार्यान्वयनमा रहेको छ । उक्त कार्यविधिमा तोकिएअनुसारका बहालवाला तथा पूर्वकर्मचारी/सुरक्षाकर्मीले व्यक्तिगत सुरक्षाकर्मीको सुविधा पाउने व्यवस्था रहेको छ । उक्त कार्यविधिमा व्यवस्था गरिएको भन्दा विपरीत सेवा सुविधालगायत व्यक्तिगत सुरक्षाकर्मी, सहयोगी राखेको भए ४८ घण्टाभित्र फिर्ता गर्न मातहत सुरक्षा निकायलाई निर्देशन जारी गरिसकिएको हुँदा उक्त कार्यविधि पालना गर्न सहयोग गरिदिनुहुन सबैमा अनुरोध छ ।’

प्रतिक्रिया