लिटरेचर फेस्टिबलमा खाना बहस : नेपाली खाना कसरी चिनाउने ?
अखबार टुडे
प्रकाशित:
२०७९, १२ पुष

पोखरा, १२ पुस। नेपालमा अस्वस्थकर जंक फुडको प्रयोग बढ्दो छ । पोखरामा जारी नेपाल लिटरेचर फेस्टिबलको ‘टिमुरदेखि ऐलासम्म’ सेसनमा सोमबार यही विषयमा बहस भएको छ ।

फेवाताल किनारमा उक्त सेसनमा सेफ सन्तोष शाह र लेखक प्रशान्त खनालसँग सहजकर्ता रचना थापा थिइन् । सेफ शाह जंक फुडको प्रयोग घटाउन अभिभावक नै सचेत हुुनुुपर्ने देख्छन् । सेफ शाहले ढिँडो, गुन्द्रुकजस्ता खानेकुराको प्रयोग बढाएर पत्रु खाना प्रयोग घटाउन सकिने बताए । ‘जंक फुड हावा जसरी चलेको छ ।

जंक फुडको हावाको कुरामा स्वस्थ खानाको कुरा गर्ने हो भने त्यसको हावा कहाँ उडेर जान्छ–जान्छ,’ उनले भने, ‘सबैभन्दा पहिला स्वस्थ खानेकुरा खुवाउनु भनेर अभिभावकलाई भन्नुपर्छ । चाउचाउभन्दा ढिँडो, गुन्द्रुक मिठो हुन्छ भनेर शिक्षा दिनुपर्छ । यो विस्तारै परिवर्तन भएको छ ।’ आफ्नो संस्कृति बिर्सने, अर्काको अँगाल्ने संस्कृति छिटोछिटो आइरहेको भन्दै शाह निराश देखिए ।

लेखक खनालले खानालाई अघि बढाउने हो भने त्यसको ऐतिहासिक महत्व बुुझाउन आवश्यक रहेको बताए । सेफ खानाको ‘एमबेस्डर’मात्रै भएको र नेपाली खाना प्रवद्र्धन हरेक नागरिकले आ–आफ्नो ठाउँबाट सुनाउनुपर्ने उनले बताए । खानाको प्रवद्र्धनमा भूमिका खेल्न खनालले मिडियालाई आग्रह गरे ।

नेपाली खाना कसरी चिनाउने ?
लेखक खनाल पहिला नेपालीले नेपालकै खाना चिन्न आवश्यक रहेको बताउँछन् । खाना चिनाउँदा त्यसको इतिहास र धार्मिक सम्बन्ध जान्न जरुरी हुने उनका भनाइ थियो । ‘सबैभन्दा पहिला हामी नेपालीलाई हाम्रै खाना थाहा छैन ।

तराईलाई पहाडको समुदायले खाने, पहाडलाई तराईको समुदायले खाने खानेकुरा थाहा छैन । जबसम्म नेपाली खाना थाहा पाउँदैनौँ,’ खनालले थपे, ‘तबसम्म नेपाली खाना अघि बढ्दैन । खानेकुरा जान्ने भनेको बनाउने तरिका र सामग्री जान्ने होइन, त्यो पछाडिको कथा के छ जान्नुपर्छ ।’

खनालले खानाले समुदायलाई नै स्थापित गर्न सक्ने खनालले बताए । आफ्नो समुदायको खाना चिनाउन नसके संस्कृतिले नै परिचय गुमाउने उनको भनाइ थियो । ‘खानाले आफ्नो परिचय परिभाषित गर्छ ।

यदि तपाईंले आफ्नो खानाको संस्कृति गुमाउनुहुन्छ भने त्योसँगै तपाईंले आफ्नो परिचय पनि गुमाउनुहुन्छ । हाम्रो संस्कृति किन चासोपूर्ण छ भने फरकपनले गर्दा हो । फरकपनलाई हामीले उत्सव मान्नुपर्छ,’ उनले भने । सेफ शाह नेपाली खानाबारे पछिल्लो समय बहस सुुरु भएकाले १० वर्षमा विश्वभर फैलनेमा आशावादी छन् । उनले प्रवद्र्धन हुने भएकाले हतार गर्न नहुुने बताए । ‘छटोछिटो हुुने काम राम्रो हुुँदैन ।

खानाको प्रवद्र्धन गर्ने, खानाको कुुरा गर्ने भएन । विस्तारै यसले एकदमै राम्रो उचाइ लिन्छ,’ उनले थपे, ‘मलाई विश्वास छ ५ देखि १० वर्षमा विश्वको जुन शहरमा खोजे पनि नेपाली रेष्टुरेन्ट पाउँछ–पाउँछ । त्यति मलाई आशा छ ।’

उनले नेपालीले आफ्नै खानालाई विश्वास नगरेको टिप्पणी गरे । यही कारण नेपाली खानाको प्रचार नेपाल बाहिर हुन नसकेको उनको दाबी थियो । ‘आफ्नै खेतको बाली एकदमै तितो, हामीलाई नेपाली खानालाई विश्वास गरेका छैनौँ ।

यो नै नेपाली खानाको प्रचार हुुन नसक्नुको कारण हो,’ शाहले भने, ‘हाम्रो खाना अरुभन्दा ऐतिहासिक, स्वादिलो भयो भने हाम्रो खाना अर्को तहमा जान्छ । त्यसैले नेपालीले नै पहिला हाम्रो खाना राम्रो छ भनेर विश्वास गर्छ ।’

सरकारले नेपाली खाना बनाउने सामग्रीको सहज उपलब्धताको वातावरण सिर्जना गर्नुुपर्ने शाहले बताए । ‘सरकारले खाना, भान्सेमा प्राथमिकता दियो भने सरकार कसले बनाउला ? सरकारले प्रवद्र्धन गर्न सक्छ ।

प्रयोग हुने सामानलाई व्यवस्था मिलाउन सक्छ,’ सेफ शाहले भने, ‘सरकारले व्यवस्था मिलाइदियो भने विदेश पठाउने, काठमाडौँ, पोखरा पठाउने व्यवस्था होस् । जनकपुर, कर्णालीमा पाइने सामग्री सजिलै पाउने व्यवस्था होस् । त्यस्तो भए नेपाली खानाको प्रचार राम्रो हुुन सक्छ ।’ सेफ शाहले युुट्युब, टेलिभिजनबाट खानेकुराको रेसिपी सिकाउने योजना रहेको सुनाए ।

प्रतिक्रिया