अब ४ दिनअघि फिल्मको सेन्सर सिफारिस लिनुपर्ने, राति ११ बजेपछि फिल्म हेर्न पाइने
अखबार टुडे
प्रकाशित:
२०७९, १२ पुष

काठमाडौं, १२ पुस । चलचित्र विकास बोर्डले फिल्म सेन्सरसम्बन्धी नियमलाई परिवर्तन गरेको छ । सोमबार बसेको बोर्ड बैठकले चारदिन अगावै सेन्सरलाई सिफारिस लिनुपर्ने निर्णय गरेको हो ।

यसअघि बोर्डले स्वेदशी तथा विदेशी फिल्मको सेन्सर सिफारिस लिनका लागि एक हप्ता अगाडि दरखास्त पेश गर्नुपर्ने नियम बाएको थियो ।

यसैबीच, राति ११ बजेपछि फिल्म प्रदर्शन गर्न चाहने हल संचालकले शान्ति सुरक्षाको आवश्यक व्यवस्था गरेर प्रदर्शन गर्न सक्ने निर्णय पनि बोर्डले गरेको छ । तर, उक्त समयमा फिल्म प्रदर्शन गर्नुपरे बोर्डलाई जानकारी गराउनु पर्ने उल्लेख छ ।

यसअघि बेलुका ११ बजेसम्म सकिने गरी चलचित्र प्रदर्शन गर्नुपर्ने नियम थियो । ११ बजेपछि प्रदर्शन गर्नुपरेमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयको स्वीकृति लिइ चलचित्र विकास बोर्डलाई समेत जानकारी गराउनुपर्ने प्रावधान थियो ।

चलचित्र संघले एक हप्ताअघि सेन्सर सिफारिस लिनुपर्ने, ११ बजेपछि फिल्म प्रदर्शन गर्न नपाउने बोर्डको निर्णयविरुद्ध आन्दोलन घोषणा गरेपछि बोर्ड लचिलो बनेको हो ।

प्रतिक्रिया