नेपालको नवगठित सरकारलाई बधाई दिँदै चीनले भन्यो- बिआरआईमा सहकार्यको अपेक्षा छ
अखबार टुडे
प्रकाशित:
२०७९, १२ पुष

काठमाडौं, १२ पुस । नेपालको नवगठित सरकारलाई बधाई दिंदै चीनले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’ (बिआरआई) लगायतका रणनीतिक विषयहरूमा समन्वय र सहकार्यको अपेक्षा गरेको जनाएको छ ।

विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा चीन सरकारका प्रवक्ता माओ निङले उक्त कुरा बताएकी हुन् ।

प्रवक्ता निङले पत्रकार समक्ष बताएकी छन्, ‘नेपालको नयाँ प्रधानमन्त्रीको रुपमा नियुक्ति हुनु भएकोमा प्रचण्डलाई हार्दिक बधाई ज्ञापन गर्दछौं । हामीले नेपालमा दिगो स्थायित्व र सामाजिक आर्थिक विकास हुने विश्वास लिएका छौं । हामी नेपालको नयाँ सरकारसँग बोर्डर मैत्री आदानप्रदान र सहयोगलाई विस्तार गर्न र गहिरो बनाउनका साथै उच्च गुणस्तरको बेल्ट एण्ड रोड (बिआरआई) सहकार्य साझेदारीलाई नयाँ प्रेरणा दिन तयार छौं ।’

नेपाल र चीन परम्परागत मित्र र छिमेकी भएको नाताले चीनले नेपालसँगको सम्बन्धलाई गहिरो महत्त्व दिने पनि निङले बताएकी छन् ।

चीन सरकार र नेपाल सरकार बीच राष्ट्रपति सी चीन फिङको महत्वपूर्ण विश्वव्यापी रणनीतिक विकास परियोजनाको रूपमा अघि बढाइएको बिआरआईको एमओयूमा सन् २०१७ मा हस्ताक्षर भएको थियो । सडक र पूर्वाधारमा लगानी गर्ने गरी चिनियाँ लगानी भित्र्याउने उक्त परियोजनाको आर्थिक व्यवस्थापनको पक्षमा भने छलफल भएको छैन ।

प्रतिक्रिया