एकीकृत समाजवादीलाई पनि सरकारमा ल्याउन सकिन्छ : प्रचण्ड
अखबार टुडे
प्रकाशित:
२०७९, ११ पुष

काठमाडौं, पुस ११ । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकीकृत समाजवादीलाई पनि आफू नेतृत्वको सरकारमा सहभागी गराउन सकिने बताएका छन् ।

पदाधिकारी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डले समाजवादीका अध्यक्ष माधव नेपाल सकारात्मक बने सरकारमा ल्याउन कुनै कठिनाइ नभएको बताएका हुन् ।
प्रचण्डको भनाइ उद्धृत गर्दै उपमहासचिव गिरिराजमणि पोखरेलले भने, ‘माधव नेपालजीको पार्टीलाई पनि सरकारमा सहभागी गराउन सकिन्छ । वर्तमान गठबन्धनबारे उहाँको धारणा बुझ्न नै बाँकी छ । उहाँ सकारात्मक बनेको अवस्थामा सरकारमा ल्याउन कुनै कठिनाइ छैन ।’

उपमहासचिव पोखरेलले एकीकृत समाजवादीलाई सरकारमा समेट्ने वातावरण बनाउने विषयमा माओवादी केन्द्र सकारात्मक रहेको समेत बताए ।

प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट कुरा गर्न नसकेका कारण गठबन्धन तोड्नुपरेको पोखरेलले बताएका छन् । ‘छलफल गर्ने नाममा झुलाउने कुरा मात्रै भयो,’ प्रचण्डले बैठकमा भने, ‘स्पष्ट कुरा नगरेर झुक्याउन खोजेको महसुस भएपछि हामी निस्किएका हौं ।’

१ सय ६९ सांसदको समर्थनमा प्रचण्ड आइतबार प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले आज चार बजे शितल निवासस्थित राष्ट्रपति भवनमा शपथ ग्रहण गर्नेछन् ।

प्रतिक्रिया