डीएसपी ठगबहादुर प्रहरी नियन्त्रणमा, निवासबाट ३५ तोला सुन र २५ लाख नगद बरामद
अखबार टुडे
प्रकाशित:
२०७९, ११ पुष

काठमाडौं, ११ पुस । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै नियन्त्रणमा लिएको हो ।

सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको प्रहरीको भनाइ छ ।

गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको सूचना पाएपछि प्रहरी प्रधान कार्यालयले उनिहरुमाथि छानबिन सुरू गरेको थियो । केसीले सुन नियन्त्रणमा लिई व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप छ । व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको बताइएको छ ।

यसअघि नै इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारी रहेकोमा काठमाडौंबाट आएको प्रहरी टोलीले नियन्त्रणमा लिएर रमाना लिन रोक लगाएको छ ।

केसी तिनै डिएसपी हुन्, जसले १ साउनमा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै जाँदा वडाध्यक्षलाई लात्ताले हानेर पोखरीमा फ्याँकिदिएका थिए ।

प्रतिक्रिया