अब के गर्ला एकीकृत समाजवादी ?
अखबार टुडे
प्रकाशित:
२०७९, १० पुष

काठमाडौं, १० पुस । सत्तारुढ गठबन्धनका प्रमुख दल नेपाली कांग्रेसले प्रधानमन्त्री दिन तयार नभएपछि नेकपा माओवादी केन्द्रले नेकपा एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने सहमति गरेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री आफुलले लिने र एमालेलाई राष्ट्रपति दिने गरी सहमति गरेको हो ।

बालकोटमा भएको बैठकले प्रचण्डलाई आधा कार्यकालका लागि प्रधानमन्त्रीको रुपमा अघि सारेको छ । साढे २ वर्षपछि एमालेले प्रधानमन्त्री लिनेछ ।

यसरी माओवादी एमालेसँग मिलेर नयाँ सरकार गठन गर्ने भएपछि गठबन्धनको एउटा घटक नेकपा एकीकृत समाजवादीे अब के गर्ला भन्ने चासो बढेको छ । पार्टी अध्यक्ष माधव नेपालले एमाले–माओवादी गठबन्धनको सरकार बनेमा आफ्नो पार्टी प्रतिपक्षमै बस्ने बताएका छन् ।

उनले एमाले–माओवादी सहमतिअघि भनेका थिए, ‘हामी कतै पनि जादैनौं । दुई पार्टीबीच सहमति भए संसदमा एकीकृत समाजवादी प्रतिपक्षमै बस्छ ।’ अध्यक्ष नेपालले यथास्थितिमा एमालेसँग सहकार्य हुन नसक्ने बताएका छन् ।

एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले नयाँ गठबन्धन बनाउने विषयमा कुनै पनि पक्षले सम्पर्क नगरेको बताए ।

एमालेबाट विभाजित भएर एकीकृत समाजवादी १६ महिनाअघि गठन भएको हो । १० सिट जितेको सो दलले राजनीतिक दलको हैसियत बनाएको छैन । एमालेले समाजवादीलाई भने नयाँ बन्ने सरकारमा सहभागी गराउन चाहेका छैनन् ।

प्रतिक्रिया