अमेरिकामा गाडी तोडफोड गरी नेपाली दूतावासको पैसा लुटियो
अखबार टुडे
प्रकाशित:
२०७९, ९ पुष

काठमाडौं, ९ पुस । अमेरिकास्थित नेपाली दूतावासको पैसा लुटिएको छ । दूतावासका अनुसार कन्सुलर सेवा शिविरहरूबाट संकलित मनी अर्डर र क्यासियर चेकहरू गाडी तोडफोड गरी लुटिएको हो ।

दूतावास जनाएअनुसार यही डिसेम्बर १५ देखि २० तारिखसम्म टेक्सासका डालस, अस्टिन र ह्युस्टन सहरमा कन्सुलर सेवा शिविर सञ्चालन गरेको थियो । जहाँ सेवाग्राहीले दूतावासलाई शुल्कबापत मनी अर्डर र क्यासियर चेक बुझाएका थिए ।

दूतावासका कर्मचारीहरू डिसेम्बर २२ का दिन ह्युस्टनबाट वासिङ्टन डिसीतर्फ जानेक्रममा पार्किङमा राखिएको सवारीसाधन तोडफोड गरी मनी अर्डर र क्यासिएर चेक लुटिएको विज्ञप्तिमा उल्लेख छ । तर कति रकम लुटियो भन्ने खुलाएको छैन ।

विज्ञप्तिअनुसार स्थानीय समय दिउँसो १२ः०३ बजे लुटपाट भएको थियो । घटनालगत्तै दूतावासले स्थानीय सुरक्षा निकायहरूमा जानकारी गराएको छ । सुरक्षाकर्मीको सहयोगमा लुटिएको रकम फिर्ता ल्याउने प्रयास भइरहेको दूतावासले जनाएको छ ।
साथै दूतावासले कन्सुलर सेवा शिविरबाट सेवा लिएका सबैलाई सेवा प्राप्त गर्दा पेस गरेका मनी अर्डर र क्यासियर चेक सम्भव भए रद्द गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया