
काठमाडौं, ८ पुस । कुख्यात ‘विकिनी किलर’ फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई नेपालबाट देश निकाला ‘डिपोर्ट’ गरिएको छ । कैदमुक्त भएसँगै बिहीबार अध्यागमन विभागले उनलाई डिपोर्ट गरेको हो ।
उनलाई १० वर्ष नेपाल प्रवेश गर्न नपाउने गरी डिपोट गरिएको छ । अध्यागमन विभागकी निमित्त महानिर्देशक प्रदर्शन कुमारीले भने, ‘उहाँलाई डिपोर्ट निर्णय गरेका छौं । १० वर्ष नेपाल प्रवेश गर्न नपाउने निर्णय गरिएको छ ।’
यसैबीच शोभराजले नेपाललाई मुद्दा हाल्ने बताएका छन् । नेपालको कारागारमा १९ वर्षभन्दा बढी समय कैद भुक्तान गरी शुक्रबार फ्रान्स डिपोर्ट गरिएका उनले जाँदाजाँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समाचार संस्था एएफपीलाई यस्तो प्रतिक्रिया दिएका छन् ।
उनले एपीसँग भनेका छन्, ‘मैले धेरै गर्नुपर्ने छ । नेपाल राज्यसहित धेरै मानिसलाई मैले मुद्दा हाल्नु पर्छ ।’ हत्या अभियोगमा १९ वर्ष २ महिना नेपाली कारागारमा रहेका उनलाई सर्वोच्च अदालतले बुधबार रिहा गर्न आदेश दिएसँगै बिहीबार उनलाई डिपोट गरिएको हो ।
शोभराजलाई पुस ६ मा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश गरेका हुन् ।
नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएर थुनामा बसेका थिए ।
उनलाई कतार एयरवेजको साँझ ६ बजेको क्यूआर–६४७ उडानमार्फत स्वदेश फिर्ता गरिएको छ । दोहा ट्रान्जिट हुँदै शोभराज फ्रान्स पुग्नेछन् ।
