
काठमाडौं, ८ पुस । सर्वोच्च अदालतले नेपाल प्रहरीका एसपी रामेश्वर यादवलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले विशेष अदालतको फैसला उल्ट्याउदै यादवलाई दोषी ठहर गरेको हो ।
योसँगै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकमा कार्यरत रहेका एसपी यादव बर्खास्तीमा परेका छन् । सर्वोच्च अदालतले यादवसँगै हवल्दार ढकबहादुर गुरुङलाई समेत दोषी ठहर गरेको छ । यसअघि उनीहरुलाई विशेष अदालतले सफाई दिएको थियो ।
डीएसपी भएको बेला २०७० सालमा रुपन्देहीमा कार्यरत रहँदा गरेको आर्थिक अनियमितता गरेको भन्दै यादवविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यतिबेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक अनियमितता र लागु औषध मुद्दामा पैसा लिएर मिलाएको पाइएको भन्दै यादव र हवल्दार ढकबहादुर गुरुङविरुद्ध मुद्दा चलाएको थियो ।
अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेपछि उनीहरु दुबै जना निलम्बनमा परेका थिए । त्यतिबेला निलम्बनमा परेका उनी विशेष अदालतले सफाइ दिएपछि पुनः सेवामा फर्किएका थिए । विशेष अदालतले सफाइ दिने पनि सरकारी वकिल कार्यालय भने विशेष अदालतको फैसलामा चित्त नबुझाउँदै सर्वोच्च अदालत पुगेको थियो ।
सर्वोच्चले मुद्दा दायर भएको करिब साढे ७ वर्षमा फैसला गर्दै एसपी यादव र हवल्दार गुरुङलाई दोषी ठहर गरेको हो । सर्वोच्चले दोषी ठहर गरिसके पनि सजाय निर्धारण भने गर्न बाँकी नै छ ।
