शनिबारदेखि शुरु हुने नेपाल टी-२० लिगको विजेताले ५५ लाख पाउने
अखबार टुडे
प्रकाशित:
२०७९, ८ पुष

काठमाडौं, ८ पुस । पटक-पटक सर्दै आएको नेपाल टी–२० लिग क्रिकेटको प्रतियोगिता शनिबारदेखि शुरु हुने भएको छ । कीर्तिपुर मैदानमा उद्घाटन खेलमा काठमाडौं नाइट्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।

डबल लिग राउन्ड रोबिनपछि शीर्ष दुई स्थानमा रहने टोलीबीच फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ । उक्त खेलमा पराजित हुने टोलीले तेस्रो र चौथो स्थानबीच हुने खेलको विजेतासँग फेरि फाइनल पुग्न प्रतिस्पर्धा गर्नेछ । आयोजकका अनुसार प्रतियोगिताको फाइनल जनवरी ११ तारिखमा हुनेछ ।

नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने नेपाल टी–२० लिगको विजेता टिमले ५५ लाख पाउने छन् । क्यानले आज पत्रकार सम्मेलन आयोजना गरी उक्त जानकारी दिएको हो । क्यानका अनुसार दोस्रो हुने टिमले ३० लाख, तेस्रो र चौथो हुनेले क्रमशः १० र ५ लाख पाउनेछन् ।

प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले पाँच लाख, उत्कृष्ट बलर र ब्याटरले समान २ लाख ५० हजार प्राप्त गर्नेछन् । यस्तै इमर्जिङ प्लेयरले १ लाख ४० हजार र प्लेयर अफ दि म्याचले ४० हजार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया