नबिलले नेपालमै पहिलोपटक सुरू गरेको ‘एनबैंक’ के हो, कसरी प्रयोग गर्ने ?
अखबार टुडे
प्रकाशित:
२०७९, ८ पुष

काठमाडौं, ८ पुस । नबिल बैंक लिमिटेडले नेपालमै पहिलोपटक नियो बैंक सञ्चालमा ल्याएको छ । बैंक बिहीबारबाट एन बैंक (नियो बैंक) को भर्चुअल शुभारम्भ गरेको हो ।

एन बैंकको शुभारम्भ गरेसँगै नबिल बैंक कम्प्युटराइज्ड बैंकबाट डिजिटल बैंकमा परिणत भएको नबिलले जनाएको छ । एन बैंक सञ्चालनका लागि एक छुट्टै भर्चुअल शाखा स्थापना गरिएको छ ।

नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले एन बैंकले जनताको बैंकिङ व्यवहारमा परिवर्तन ल्याउन र दिगो बैंकिङमा महत्वपूर्ण योगदान पु¥याउने बताए ।

बैंकका अनुसार ग्राहकले आफ्नो साथमा रहने मोबाइल फोनको सहायताले एन बैंकको उपयोगमार्फत खाता खोल्ने, निक्षेप, ऋण, भुक्तानीजस्ता सबै परम्परागत बैंकिङ सेवाहरू सजिलैसँग लिन सक्नेछन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्रप्रसाद ढुंगानाले अनलाइन बैंकिङ रोज्ने ग्राहकले एन बैंकबाट आफ्नो खाता खोल्नेदेखि डिजिटल ऋण प्राप्त गर्नेसम्मका सेवा पाउने बताए ।

के हो एन बैंक, कसरी प्रयोग गर्ने ?
एन बैंक (नियो बैंक) मोबाइल बैंकिङ एपलाई पूर्ण रूपमा परिमार्जन गरेर सुरु गरिएको डिजिटल बैंक हो । यसअघि नै नबिल स्मार्ट बैंक एप प्रयोग गरिरहेका ग्राहकहरूले अपडेट प्राप्त गर्छन् जहाँ लोगो नबिलको ‘ए’ बाट एन बैंकको ‘एन’ मा परिणत हुने बैंकले जनाएको छ । यसबाहेक, नयाँ र आधुनिक प्रयोगकर्ता इन्टरफेस प्रदान गर्न एपको लुक एण्ड फिल अपडेट गरिएको बैंकले जनएको छ ।

सम्बन्धित बैंकमा खाता नभएका सर्वसाधारणले पनि अब आफ्नो मोबाइलमा रहेको एन बैंक एपबाट बैंक खाता खोल्न सक्ने उल्लेख गरिएको छ । एन बैंकमार्फत खाता खोल्न जम्मा ३० सेकेन्ड लाग्ने नबिल बैंकले दाबी गरेको छ । एन बैंक एपबाट ग्राहकहरूले अब सिधै आफ्नो बैंक खाता खोल्नेदेखि ऋणका लागि आवेदन दिनसम्मका सम्पूर्ण गतिविधिहरू गर्न सकिने उल्लेख गरिएको छ ।

यस्ता छन् एन बैंकका प्रमुख विशेषता

३० सेकेन्डमै खाता खोल्न सकिने
एन बैंक एपबाट ३० सेकेण्डभित्रै एन सेभिङ खाता खोल्न सकिने छ । खाता खोल्न ग्राहकले आफ्नो नाम, जन्म मिति, इमेल ठेगाना, मोबाइल नम्बर र नागरिकता नम्बर मात्र भर्नुपर्ने उल्लेख गरिएको छ ।

डिजिटल ऋणको सुविधा
ग्राहकहरूले आफ्नो एन बैंक एपबाट सिधै ऋणका लागि डिजिटल आवेदन दिन सक्ने बताइएको छ । नबिल फोन लोन र लोन अगेन्स्ट फिक्स डिपोजिट गरी दुई प्रकारका डिजिटल ऋण लिन सकिने उल्लेख छ । ग्राहकले आफ्नो छ महिनाको कारोबार इतिहासको आधारमा नबिल फोन लोन प्राप्त गर्न सकिने उल्ख गरिएको छ ।

एन–रेमिट
नेपालभित्र पैसा पठाउनेबाहेक, विदेशमा बस्ने ग्राहकहरूले एन रेमिट छनोट गरेर आफ्नो मास्टर कार्ड वा भिसा कार्डहरू प्रयोग गरेर आफ्नो अन्तर्राष्ट्रिय बैंकहरूबाट सिधै नबिल बैंक खातामा पैसा पठाउन सकिने छ । प्रेषक र प्रापक विवरणहरू सहित (यूएसडीमा) पठाइने रकमसहितको फारम मात्र भरे पुग्ने नबिलले जनाएको छ ।

अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरेर दर्ता सुविधा
विदेशमा बस्ने ग्राहकहरूले आफ्नो अन्तर्राष्ट्रिय नम्बर प्रयोग गरी एन बैंक एपमा दर्ता गर्न र आफ्नो नबिल बैंक खाता सञ्चालन गर्न सक्ने उल्लेख गरिएको छ । बैंकिङ सेवाहरूको होस्टका लागि आवेदन दिन सकिने र डेबिट कार्ड, क्रेडिट कार्ड, व्यक्तिगत ऋणको सुविधा पनि लिन सकिने बताइएको छ ।

प्रतिक्रिया