
तस्बिर : हरि गोपाल प्रधान/अखबार टुडे
काठमाडौं, ७ पुस । बिहीबार नयाँ बानेश्वरस्थित संसद भवन परिसर सांसदहरुले रंगीविरंगी बनाए । नयाँ अनुहारदेखि अनुभवी सांसदहरुको जमघटले बेग्लै दृश्यको आभाष भएको थियो ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ निर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा उनीहरुलाई ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले शपथ गराएका हुन् ।

शपथ लिन नवनिर्वाचित सांसद राष्ट्रिय पोसाकदेखि लिएर आ–आफ्नो सांस्कृतिक पहिचान झल्कने पोसाकमा सजिएर संसद् भवन पुगेका थिए । संसद सचिवालयका अनुसार २६ जना सांसदले विभिन्न १४ मातृभाषामा शपथ लिएका छन् ।

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित १ सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित १ सय १० गरी कूल २ सय ७५ सांसद छन् । तर, बिहीबार १७ जना सांसद अनुपस्थित थिए । उनीहरुलाई केही दिनभित्र शपथ खुवाइने संसद सचिवालयले जनाएको छ ।











