बैतडीमा शिक्षक विष्टको हत्या भएको खुलासा, होस्टेलमा बस्ने युवती र उनका श्रीमान् पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, ७ पुष

बैतडी, ७ पुस । बैतडीमा मृत अवस्थामा भेटिएका शिक्षक धनबहादुर विष्टको हत्या भएको खुलेको छ ।
सुर्नया गाउँपालिका–२ घर भइ पाटन नगरपालिका–६ स्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो ।

प्रहरीले हत्या गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने सोही विद्यालयमा कम्प्युटर डिप्लोमा अध्ययनरत छात्रा र उनका श्रीमान रहेको प्रहरीले जनाएको छ ।

छात्राका श्रीमान विदेशको भिषा आउने भएपछि श्रीमतीसँग बस्न पाटन आएको खुलेको छ । साथै, मृतक शिक्षक पनि सोही छात्राबासको माथिल्लो तलाको ९ नम्बर कोठामा बस्दै आएका थिए ।

घटना भएको दिन शिक्षक विष्टलाई छात्राले छात्राबास पछाडि बोलाएको र विवाद हुँदा हत्या भएको प्रहरीले जनाएको छ । के विषयमा हत्या भयो भन्ने प्रहरीले खुलाएको छैन । यद्यपि, पक्राउ परेका दुवै जनाले हत्या गरेको स्विकार गरेको प्रहरीले जनाएको छ ।

बैतडी प्रहरीले आज दिउँसो पत्रकार सम्मेलन गरी आरोपीलाई सार्वजनिक गर्ने तयारी गरेको छ । शिक्षक विष्ट २ पुसमा छात्रावासको पछाडि मृत अवस्थामा भेटिएका थिए ।

विष्टको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गर्दै सोही दिनदेखि पाटनमा आन्दोलन जारी छ ।

प्रतिक्रिया