अमरिकी संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले भने, ‘रुसको अगाडि घुँडा टेक्दैनौँ’
अखबार टुडे
प्रकाशित:
२०७९, ७ पुष

काठमाडौं, ७ पुस (एजेन्सी) । युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले रूसको अगाडि घुँडा नटेक्ने बताएका छन् ।
रुसी आक्रमणपछि पहिलोपटक अमेरिका भ्रमणमा निस्केका राष्ट्रपति जेलेन्स्कीले बुधबार अमेरिकी संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै रुससामु आत्मसमर्पण नगर्ने बताएका हुन् ।

समाचार संस्था एपीका अनुसार जेलेन्स्कीले रूसको आक्रमणविरूद्ध युक्रेन अझै उभिएको भन्दै अमेरिकी नेताहरू र अमेरिकी जनतालाई रूसको आक्रमणबिरूद्ध लड्न सहयोग गरेकोमा धन्यवाद दिए ।

उनले युद्धको अन्त्य गर्ने प्रयासमा कुनै सम्झौता नहुने वाचासमेत उनले गरेका छन् । आफूले शान्तिका लागि अघि सारेको १० बूँदे प्रस्तावलाई राष्ट्रपति जो बाइडेनले स्वीकारेको भन्दै जेलेन्स्कीले प्रत्येक अमेरिकी सांसदले त्यसलाई अनुमोदन गर्नुपर्ने बताए ।

उनले आफ्नो देशको रक्षाका लागि अमेरिकी समर्थनलाई निरन्तरता दिन अमेरिका भ्रमण गरेको पनि बताए । उनले भने, ‘तपाईँहरूले हामीलाई दिएको पैसा दान होइन । यो विश्वव्यापी सुरक्षा र प्रजातन्त्रमा लगानी हो, जुन हामीले सबैभन्दा जिम्मेवार तरिकामा ह्यान्डल गरेका छौं ।’

रूसलाई आतंककारीको संज्ञा दिँदै जेलेन्स्कीले आतंककारीलाई सबक सिकाउन अमेरिकी कंग्रेस एकढिक्का हुनेमा आफू ढुक्क रहेको बताए ।

अमेरिकी संसदलाई सम्बोधन गर्नुअघि ह्वाइटहाउमा राष्ट्रपति बाइडेनसँग भेटवार्तामा जेलेन्स्कीले शान्तिका लागि देशको सिमाना गुमाउन नसक्ने स्पष्ट पारेका थिए ।

वार्ताका क्रममा अमेरिकी राष्ट्रपति बाइडेनले युक्रेनलाई आवश्यक थप सहयोग घोषणा गर्दै उच्च प्रविधियुक्त प्याट्रिएट रक्षा प्रणाली पनि उपलब्ध गराउने घोषणा गरे ।

बाइडेनले रसियाले युक्रेनको अस्तित्वको अधिकारमाथि क्रुर हमला गरेको भन्दै अमेरिका र युक्रेनले आफ्नो संयुक्त प्रतिरक्षा कायम राखेर आफ्नो गुमेको भूमी फिर्ता ल्याउन मद्दत गर्ने समेत वाचा गरेका छन् ।

प्रतिक्रिया