
काठमाडौं, ६ पुस । सर्वोच्च अदालतले ‘सिरियल किलर’ चाल्स शोभराजलाई कैदमुक्त गर्न आदेश दिएको छ । बुधबार न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।
‘यदि अन्य मुद्दामा थुनामा बस्न नपर्ने भएमा आजैदेखि कैदमुक्त गर्न र १५ दिनभित्र आफ्नै देशमा फर्काउने व्यवस्था मिलाउन’समेत सर्वोच्चका आदेश भनिएको छ ।
करिब १९ वर्षदेखि केन्द्रीय कारागार जगन्नाथ देवलमा कैद सजाय भुक्तान गरिरहेका चाल्स अदालतको आदेशसँगै अब कसरी थुनामुक्त भन्ने चासोको विषय बनेको छ ।
सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार यो आदेश जानकारी जिल्ला अदालत काठमाडौं, भक्तपुर र केन्द्रीय कार्यालयलाई पठाइसकिएको छ ।
‘यो आदेश पाएपछि जिल्ला अदालतले अन्य मुद्दामा कैद भोग्नुपर्ने छ कि छैन भनेर हेर्छ’ उनले भने, ‘यदि रहेनछ भने जिल्ला अदालतले छोड्नका लागि कारागारलाई पत्राचार गर्नेछ । त्यसपछि मात्र उनी छुट्ने छन् ।’
केन्द्रीय कारागारका जेलर ईश्वरीप्रसाद पाण्डेले भने अदालतको आदेश आएको थाहा पाएपनि आदेशमा के÷कस्तो छ भन्ने हेरिनसकेको बताएका छन् । उनले सर्वोच्च अदालतको वेबसाइटमा हेर्दा कैदमुक्त गर्न फैसला भएको देखिएको भन्दै त्यसभित्र के छ भन्ने हेर्न बाँकी रहेको बताए ।
शोभराजले १९ वर्ष कैद सजाय भोगिसकेका छन् भने उमेरले समेत ७८ वर्षको वृद्ध भएकाले कानुनअनुसार सुविधा पाउनुपर्ने भन्दै बन्दीप्रत्यक्षीकरणको मुद्दा हालेका थिए ।
साथै, जेलभित्र असल चालचलन भएकाले ७५ वर्ष उमेर पुगेका कसुरदारलाई ७५ प्रतिशतसम्म कैद छुट दिन सकिने कानुनी व्यवस्था छ । उक्त व्यवस्था कैद सजाय भोगिरहेका नेपालीमात्र होइन विदेशी नागरिकको हकमा पनि लागू हुनुपर्ने शोभराजले जिकिर गरेका थिए । उनको जिकिरलाई अदालतले स्वीकार गरेको छ ।
‘निजलाई निरन्तर कैदमा राखिराख्नु बन्दीको मानवअधिकार मापदण्ड संविधान तथा कानुनप्रदत्त अधिकार अनुकूल देखिएन,’ सर्वोच्चको आदेशमा उल्लेख छ, ‘बन्दीप्रत्यक्षीकरणको आदेश जारी गरिदिएको छ । अन्य मुद्दामा थुनामा राख्नु नपर्ने भए निजलाई आजै कैदबाट छाडिदिन र १५ दिनभित्र आफ्नो देश फर्काउन आवश्यक व्यवस्था मिलाउनसमेत यो आदेश जारी गरिदिएको छ ।’
सन् १९७५ अमेरिकी नागरिक कोन्निजो ब्रोन्जिजलाई काठमाडौंको मनहरामा मारेको दुई दिनमै उनले क्यानेडियन नागरिक लरेन्ट अरमान क्यारिअरेलाई भक्तपुरको साँगामा हत्या गरेका थिए ।
हत्यापछि फरार चाल्स २०६१ सालमा काठमाडौं आएका थिए । त्यही बेला उनलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेपछि काठमाडौं र भक्तपुर जिल्ला अदालतमा हत्या मुद्दा अघि बढेको थियो ।
दुवै अदालतले उनलाई फरक÷फरक समयमा जन्मकैद हुने फैसला सुनाएका छन् । काठमाडौं जिल्ला अदालतमा चलेको मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । जिल्ला अदालतले उनलाई गरेको जन्मकैदको फैसला सर्वोच्च अदालतले सदर गरेको थियो ।
पक्राउ परेदेखि अहिलेसम्म चाल्स केन्द्रीय कारागार सुन्धारामा कैद सजाय काटिरहेका छन् । उनलाई २०८० साल असोज १ गतेसम्म कैद राख्नुपर्ने पूर्जी अदालतले जारी गरेको थियो ।