मार्टिनेजले फेरि एमबाप्पेको मजाक उडाए
अखबार टुडे
प्रकाशित:
२०७९, ६ पुष

काठमाडौं, ६ पुस (एजेन्सी) । अर्जेन्टिनाका गोलकिपर इमिलानो मार्टिनेजले पुनः फ्रान्सका फरवार्ड किलियान एम्बाप्पेको मजाक उडाएका छन् ।

ब्युनोस आयर्समा विश्वकप उपाधिको खुसीयाली मनाउने क्रममा मेस्सीसँगै देखिएका उनले हातमा एम्बाप्पेको अनुहार टाँसिएको गुडिया बोकेर मजाक उडाएका हुन् ।

फाइनल खेलमा पेनाल्टी सुटआउटमा फ्रान्सका दुईवटा प्रहार रोक्दै टोलीलाई उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । प्रतियोगिताको उत्कृष्ट गोलकिपरको रूपमा गोल्डन ग्लोबको अवार्ड हात पारेपछि आपत्तिजनक सङ्केत गरेपछि उनी हेडलाइन बनेका थिए ।

त्यसपछि ड्रेसिङ रुममा अर्जेन्टिनाले खुसीयाली मनाउने क्रममा उनले फाइनलमा ह्याट्रिक गरेका एम्बाप्पेका लागि एक मिनेट मौनधारण गर्न आग्रह गरेका थिए ।

अहिले ब्युनोस आयर्समा विश्वकप उपाधिको खुसीयाली मनाउने क्रममा बसको माथि मेस्सीसँगै देखिएका उनले हातमा एम्बाप्पेको अनुहार टाँसिएको गुडिया बोकेको पाइएको छ । यसअघि मार्टिनेजले विश्वकपमा आफूविरुद्ध फ्रेन्च समर्थकहरुले हुटिङ गरेका कारण आपत्तिजनक सङ्केत गरेको स्पष्टीकरण दिएका थिए ।

प्रतिक्रिया