दलको नेता बन्ने होड : एमाले संसदीय दलको नेतामा ओली निर्विरोध, कांग्रेसमा देउवा र गगनबीच प्रतिस्पर्धा
अखबार टुडे
प्रकाशित:
२०७९, ५ पुष

काठमाडौं, ५ पुस । नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भएका छन् । मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गरेको हो ।

सांसद ठाकुर गैरेअनुसार उपाध्यक्ष विष्णुप्रसाद पौडेलको प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङको समर्थनमा अध्यक्ष ओली दलको नेता चयन भएका हुन् । दलको उपनेता, प्रमुख सचेतक र सचेतक भने अर्को बैठकले चयन गर्ने बताइएको छ ।

यस्तै, नेपाली कांग्रेसको दलको नेतामा सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाबीच प्रतिस्पर्धा हुने भएको छ । प्रधानमन्त्री एवं पार्टी सभापति देउवा र थापाले मंगलबार सदीय दलको नेतामा उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

मंगलबार सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गरेपछि महामन्त्री थापाले आफ्ना प्रस्तावक र समर्थक नेताहरुलाई धन्यवाद दिएका थिए । उनको प्रस्तावकमा डा. शेखर कोइराला छन् भने समर्थनमा उपसभापति धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा र केन्द्रीय सदस्य प्रदीप पौडेल छन् ।

थापाभन्दा अगाडि सभापति देउवाले आफ्नो उम्मेदवारी दर्ता गरेका थिए । महामन्त्री थापाले उम्मेदवारी दर्ता गरेपछि शान्त मनले सोच्न र आफ्नो उम्मेदवारी फिर्ता लिने ऐतिहासिक निर्णय लिन सभापति देउवालाई आग्रह गरेका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने मुलुकलाई स्थायी शान्तिमा लैजान कांग्रेसको संसदीय दलको नेतामा सभापति देउवाको विकल्प नरहेको बताएका छन् । उनी मंगलबार दिउँसो कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा देउवाको समर्थनमा पुगेका थिए ।

उनले भन, ‘आगामी दिनमा पुस्तान्तरण र नेतृत्व परिवर्तन हुनेछ । अरु नेतामा क्षमता नै छैन भन्ने होइन, जनतालाई आवश्यक नेतृत्व दिनसक्ने क्षमता देउवाजी नै हुनुहुन्छ । युवाहरुलाई म त भन्छु अझै संसदीय दलको नेता देउवाजीलाई सर्वसम्मत बनाऔं ।’

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको नेतामा अध्यक्ष राजेन्द्र लिङ्देन चयन भएका छन् । मंगलबार नै बसेको संसदीय दलको बैठकले लिङ्देनलाई सर्वसम्मत रुपमा नेता चयन गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

प्रतिनिधिसभामा राप्रपाका १४ सांसद छन् । जसमध्ये ७ जना प्रत्यक्ष र ७ जना समानुपातिक पद्धतिबाट निर्वाचित भएका हुन् ।
यस्तै, जनमत पार्टीले भने मधेस प्रदेशको संसदीय दलको नेता चयन गर्ने जिम्मा पार्टी अध्यक्ष डा सिके राउतले पाएका छन् ।

मंगलबार जनकपुरधाममा बसेको संसदीय दलको बैठकमा सहमति नजुटेपछि दलको नेता छान्ने जिम्मा अध्यक्ष डा राउतलाई दिने निर्णय भएको सो पार्टीका नेता तथा प्रदेशसभा सदस्य महेशकुमार यादवले जानकारी दिए ।

जनमत पार्टीमा संसदीय दलको नेता बन्न सञ्जय यादव, चन्दन सिंह, वसन्त कुशवाहा, सतिश सिंह, महेशकुमार यादवलगायत नेता आकांक्षी छन् । प्रदेशसभामा यस पार्टी १३ सिटसहित चौथो ठूलो दल बनेको छ ।

प्रतिक्रिया