
काठमाडौं, ४ पुस । फ्रान्सलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै अर्जेन्टिनाले फिफा विश्वकप २०२२ को उपाधि जितेको छ । दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिनाले ३६ वर्षपछि २२ औं संस्करणको विश्वकप फुटबलको उपाधि उचालेको हो ।
योसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि उचालेको छ । यसअघि अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा दुई पटक उपाधि जितिसकेको छ ।
मंसिर ४ गतेबाट कतारमा एक महिनासम्म चलेको भब्य प्रतियोगितामा विश्वको उत्कृष्ट ३२ टिमहरू सहभागी थियो । विश्वकपको विजेतासँगै विश्वकपमा सहभागी सबै टिमले नगद पुरस्कार पाएका छन् ।
विश्वकप विजेता अर्जेन्टिनाले २० मिलियन अमेरिकन डलर बराबरको फिफा विश्वकप ट्रफी पाएको छ । १८ क्यारेट सुन जडित उक्त ट्रफी ३६.८ सेन्टिमिटर अग्लो र ६.१ किलोग्राम तौलको छ ।
विश्वकप विजेताले उपाधिसँगै ठूलो मात्रामा नगद रकम पुरस्कारसमेत जितेको छ । अर्जेन्टिनाले अहिलेसम्मकै सबैभन्दा बढी ४२ मिलियन अमेरिकी डलर पाएको हो । यस्तै उपविजेतामा चित्त बुझाएको फ्रान्सले ३० मिलियन अमेरिकी डलर पुरस्कार पाएको छ । उपविजेता बनेको फ्रान्सले यसअघि सन् १९९८ र २०१८ मा विजेता बनेको थियो ।
हेर्नुहोस् कसले कति जिते (नेपाल राष्ट्र बैंकले पुस ३ गते तोकेको विनिमय दरका आधारमा)
फाइनलमा पुग्ने टिम
अर्जेन्टिना– ४२ मिलियन अमेरिकी डलर (५ अर्ब ५७ करोड ९६ लाख ३२ हजार ८ सय)
फ्रान्स– ३० मिलियन अमेरिकी डलर (३ अर्ब ९८ करोड ५४ लाख ५२ हजार)
सेमिफाइनलबाट बाहिरिने टिम
क्रोएसिया– २७ मिलियन अमेरिकी डलर (३ अर्ब ५८ करोड ६९ लाख ६ हजार ८ सय)
मोरोक्को– २५ मिलियन अमेरिकी डलर (३ अर्ब ३२ करोड १२ लाख १० हजार)
यस्तै, क्वार्टरफाइनलबाट बाहिरिएका पोर्चुगल, इङ्ल्याण्ड, ब्राजिल र नेदरल्याण्डले समान १७ मिलियन अमेरिकी डलर (२ अर्ब ५८ करोड ८४ लाख २२ हजार ८ सय) पुरस्कार पाएको छ ।
यस्तै, अन्तिम १६ मा पुग्ने टिम स्वीटजरल्याण्ड, स्पेन, पोल्याण्ड, सेनेगल, दक्षिण कोरिया, जापान, अष्ट्रेलिया र अमेरिको समान १३ मिलियन अमेरिकी डलर (१ अर्ब ७२ करोड ७० लाख २९ हजार २ सय) बराबरको पुरस्कार पाएको छ ।
यस्तै, समूह चरणबाट बाहिरिएका घाना, उरूग्वे, सर्विया, क्यामरून, क्यानडा, बेल्जियम, कोष्टारिका, जर्मनी, डेनमार्क, ट्यूनिसिया, साउदी अरेबिया, मेक्सिको, वेल्स, इरान, इक्वेडर र कतारले समान ९ मिलियन अमेरिकी डलर (१ अर्ब १९ करोड ५६ लाख ३५ हजार ६ सय) बराबरको पुरस्कार पाएको छ ।