हिजाब विरुद्धको प्रदर्शनलाई समर्थन गरेको आरोपमा ओस्कार विजेता इरानी अभिनेत्री अलिदोस्ती पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, ३ पुष

काठमाडौं, ३ पुस (एजेन्सी) । हिजाब विरुद्धको प्रदर्शनलाई समर्थन गरेको आरोपमा इरान सरकारले चर्चित अभिनेत्री तरानेह अलिदोस्तीलाई पक्राउ गरेका छन् ।

३८ वर्षीय तरानेह अलिदुस्तीलाई पछिल्लो पटक ‘झूटा र विकृत सामग्री प्रकाशित गरेको’ र अराजकता भड्काएको आरोपमा गिरफ्तार गरिएको समाचार एजेन्सीहरुले जनाएको छ ।

उनी सन् २०१६ को ओस्कार–विजेता फिल्म ‘द सेल्सम्यान’ मा उनको भूमिकाको लागि सबैभन्दा बढी परिचित छिन् । गत हप्ता अभिनेत्री अलिदोस्तीले हिजाब विरुद्ध भैरहेको प्रदर्शनलाई समर्थन गर्दै इन्स्टाग्राममा हिजाब विनाको आफ्नो तस्बिर राखेकी थिइन् ।

साथै उनले इरान सरकारले मोहसेन शेकरीलाई दिएको मृत्युदण्ड सजायको पनि आलोचना गरेकी थिइन । डिसेम्बर ८ मा २३ वर्षीय मोहसेन शेकरीलाई मृत्युदण्ड दिइएको थियो । इरानको हिजाबविरोधी पछिल्लो प्रदर्शनमा मृत्युदण्ड दिइएका उनी पहिलो प्रदर्शनकारी हुन् ।

इरानमा प्रहरीको हिरासतमा महसा अमिनीको ज्यान गएपछि प्रदर्शन भइरहेको छ । महिलाहरूको हिजाब विरोधी प्रदर्शनले इरानलाई नयाँ दिशामा डोर्याइरहेको कतिपयले विश्लेषण गरेका छन् । इरानमा अहिले भैरहेको प्रदर्शन सन् १९७९ मा भएको इस्लामिक क्रान्ति यताकै सबैभन्दा ठूलो चुनौती बनेको छ ।

हिजाब नलगाएको आरोपमा प्रहरीले हिरासतमा लिएकी २२ वर्षीय महसा अमिनीको गएको सेप्टेम्बर १६ मा ज्यान गएको थियो । तर प्रहरीले उनको हृदयघातका कारण ज्यान गएको दाबी गरेको छ । इरानमा कडा इस्लाम नियमहरू कार्यान्वयनमा छन् र त्यहाँ महिलाले शिर ढाक्ने पोसाक वा हिजाब लगाउनु अनिवार्य मानिन्छ ।

प्रतिक्रिया