कमला घिमिरेले गाएको १० लाखको टुक्का किन विवादित बन्यो ?
अखबार टुडे
प्रकाशित:
२०७९, ३ पुष

काठमाडौं, ३ पुस । सात वर्षकै उमेरमा लोकदोहोरीमा जमेकी बालकलाकार कमला घिमिरे एउटा गीतका कारण अहिले विवादमा आएकी छन् । कमलाले एउटा लाइभ दोहोरीमा गाएको गीत चर्चासँगै विवादमा आएको हो ।

कमलाले केही दिनअघि गायक सुमन परियारसँग लाइभ दोहोरी गाएकी थिइन्, जसको विषयवस्तु विवादास्पद थियो । पछिल्लो समयका दुई ठूला स्क्यान्डललाई मसला बनाएर दुई कलाकारले दोहोरी गाएका थिए ।

छहारी युट्युब च्यानलले चार दिनअघि युट्युबमा अपलोड गरेको यो भिडियोका केही टुक्का अहिले टिकटकमा समेत भाइरल बनेको छ ।

उक्त दोहोरीमा कसलाई निशाना बनाइएको हो भन्ने बुझ्न कठिन छैन । ‘सोल्टी बजार’ शीर्षको उक्त गीतमा खासगरी ‘१० लाख वाला’ टुक्कालाई जोडिएको छ । जुन शब्दको भिडियोले अहिले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ । धेरैले वास्तविकता ओकलेको भन्दै कमलाको प्रशंसा गरेका छन् । त्यससँगै आलोचना पनि बढ्दै गएको छ ।

हालैको प्रतिनिधिसभा चुनावमा नेकपा एकीकृत समाजवादीबाट समानुपातिक उम्मेदवार रहेकी कलाकार जमुना सुमनले फेसबुकमा कमलाको आलोचना गरेकी छन् । उनको स्टाटस छ, ‘कमला बैनी कति छिटो ठूली भइन् । आज लाइभ दोहोरी सुनेको लाज पो लाग्यो ।’

लोककलाकार नकुल ढकाल नवीनले लेखेका छन्, ‘प्रिय बहिनी कमला तिमीलाई समीक्षाले बोकेको पीडा बोक्न नपरोस् समीक्षा गलत होलिन् तर उनी उमेरले नादान थिइन् । पल शाह त्यति माथि पुगेको मान्छेले कानून नबुझ्नु पलको कमजोरी हो । पल र सन्दीपलाई जोड्न मिल्दैन । कहाँको पल अंकल उमेरको, कहाँको सन्दीप टीन एजको युवा ।’

ढकालले अर्को स्टाटसमा समीक्षालाई यस विषयमा कानूनी उपचार खोज्नसमेत सुझाव दिएका छन् । टिकटकमा भने अधिकांश प्रतिक्रिया कमलाको समर्थनमा छन् ।

टिनएजर केटीहरूले कानूनको आडमा केटाहरूलाई फसाएर जेल पु¥याउने विकृति बढेको भन्दै सत्य उजागर गरेकोमा धेरैले कमलालाई धन्यवाद समेत दिएका छन् ।

संयोग हो वा के हो यो गीत सार्वजनिक भएको दुई दिनपछि गायिका समीक्षा अधिकारीले मध्यरातमा हताश स्टाटस लेखेकी थिइन् । केही बेरमा उनले सो स्टाटस हटाइन् । उक्त गीतले समीक्षालाई मानसिक तनाव दिएको उनी निकट स्रोतको भनाइ छ ।

प्रतिक्रिया