फिफा विश्वकप : उपाधिका लागि फ्रान्स र अर्जेन्टिना भिड्दै
अखबार टुडे
प्रकाशित:
२०७९, ३ पुष

काठमाडौं, ३ पुस । कतारमा जारी फिफा विश्वकप–२०२२ को फाइनल खेलमा आज फ्रान्स र अर्जेन्टिना भिड्दैछन् । फाइनल खेल कतारको लुसिल स्टेडियममा राति ८ः४५ बजे सुरु हुनेछ ।

यसअघि बुधबार राति भएको दोस्रो सेमिफाइनलमा मोरक्कोलाई हराउँदै फ्रान्सले फाइनलमा अर्जेन्टिनासँगको भेट पक्का गरेको थियो । साविक विजेता समेत रहेको फ्रान्सले मोरक्कोलाई २–० ले हराएको हो ।

अर्जेन्टिनाले भने पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० ले हराएको थियो । फ्रान्स र अर्जेन्टिना दुवै टिम तेस्रोपटक विश्वकपको उपाधि जित्ने लक्ष्यमा छन् ।

यस्तै क्रोएसियाले फिफा विश्वकपमा तेस्रो स्थान हासिल गरेको छ । शनिबार खलिफा रंगशालामा मोरक्कोमाथि २–१ को जित हासिल गर्दै क्रोएसिया तेस्रो भएको हो ।

क्रोएसियाको जितमा जोस्को भार्डीओल र मिस्लाभ ओर्सिचले १–१ गोल गरे । मोरक्कोका लागि अक्रफ दारीले बराबरी गोल फर्काएका थिए । मोरक्कोले दोस्रो हाफमा आक्रामक खेल प्रस्तुत गरेपनि डोमिनिक लिभाकोभिचलाई परास्त गर्न सकेन । गत संस्करणमा उपविजेता बनेको क्रोएसिया यसपटक तेस्रो स्थान हासिल गर्न सफल भयो ।

प्रतिक्रिया