पाकिस्तानका विदेशमन्त्री भुट्टोले मोदीलाई ‘गुजरातको कसाई’ भनेपछि…!
अखबार टुडे
प्रकाशित:
२०७९, २ पुष

काठमाडौं, २ पुस । पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गर्दै दिएको अभिव्यक्तिलाई लिएर भारतीय जनता पार्टी (भाजपा)ले प्रदर्शन गरेको छ ।

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले मोदीलाई ‘गुजरातको कसाई’को संज्ञा दिएपछि भाजपाले त्यसको विरोध गर्दै प्रदर्शन गरेको छ ।

भारतीय मिडियाका अनुसार भाजपाले भारतका सबै प्रदेशमा प्रदर्शन गरेको छ । भाजपा कार्यकर्ताले पाकिस्तानका विदेशमन्त्रीको पुत्ला दहन गर्दै उनको अभिव्यक्तिको कडा विरोध गरेका छन् ।

बीबीसी हिन्दीले उल्लेख गरेअनुसार शनिबार भुट्टोको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै भाजपाले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘पाकिस्तानका विदेशमन्त्रीको बयान पूर्णतया अपमानजनक र कायरताले भरिएको छ ।’ भाजपाले सत्तामा बस्नका लागि मात्रै यस्तो अभिव्यक्ति दिएको भनेको छ ।

भाजपाले विज्ञप्तिमा भनिएको छ, ‘यो कथनको उद्देश्य विश्वलाई भ्रममा पार्नु र पाकिस्तानको खस्कँदै गएको अर्थतन्त्र, अराजकता, सेनामा मतभेद, बिग्रँदै गएको विश्वव्यापी सम्बन्ध र पाकिस्तान आतंकवादको गढ भएको कुराबाट विश्वको ध्यान हटाउनु हो ।’

पाकिस्तानका विदेशमन्त्री बिलावल भुट्टोले शुक्रबार संयुक्त राष्ट्र संघको एक कार्यक्रममा भनेका थिए, ‘ओसामा बिन लादेन मरेका छन् तर गुजरातका कसाई जीवित छन् । र, उनी भारतका प्रधानमन्त्री हुन् । उनी प्रधानमन्त्री नहुँदासम्म उनलाई अमेरिका आउन प्रतिबन्ध लगाइएको थियो ।’

भुट्टोको उक्त टिप्पणीलाई लिएर भारतमा चर्को विरोध भइरहेको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले पाकिस्तानको यो निकै तल्लो तहको भनाइ रहेको बताएका छन् । उनले पाकिस्तानका अल्पसंख्यकहरूप्रतिको दृष्टिकोणमा खासै परिवर्तन नआएको भन्दै भने, ‘उनलाई भारतलाई दोष दिने अधिकार छैन ।’

शुक्रबार पनि भाजपा कार्यकर्ताले पाकिस्तान उच्चायोग अगाडि प्रदर्शन गरेका थिए । उनीहरुलाई रोक्न दिल्ली पुलिसले ब्यारिकेड लगाए तर अनियन्त्रित भीडले ब्यारिकेड पनि तोडिदिएका थिए ।

प्रतिक्रिया