सरकार गठनका लागि ‘काउन्ट डाउन’ सुरू, यसरी चुनिने छन् प्रधानमन्त्री
अखबार टुडे
प्रकाशित:
२०७९, १ पुष

काठमाडौं, १ पुस । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम आएसँगै सरकार गठनका लागि ‘काउन्ट डाउन’ सुरू भएको छ ।

निर्वाचन आयोगले बिहिबार (मंसिर २९ गते) राष्ट्रपति विद्यादेवी भण्डारीलाई निर्वाचन परिणाम बुझाएसँगै नयाँ सरकार गठनका लागि ‘काउन्ट डाउन’ सुरु भएको हो ।

संविधानको धारा ७६ को १ मा निर्वाचनमा बहुमत प्राप्त गर्ने दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्ति गर्ने व्यवस्था छ । तर यसपटकको निर्वाचनमा कुनै पनि दलको बहुमत नभएकाले संविधानको धारा ७६ को २ अनुसार प्रधानमन्त्री बन्ने अवस्था आएको छ ।

धारा ७६ को २ मा ‘प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ उल्लेख छ ।

यसरी दुईभन्दा बढी दलहरूले सरकार गठनका लागि राष्ट्रपत समक्ष ३० दिनभित्र दाबी गर्नुपर्ने व्यवस्था गरेको छ । संविधानको धारा ७६ को उपधारा ३ ले ‘निर्वाचन परिणाम घोषणा भएको ३० दिन भित्र उपधारा २ बमोजिमको सरकार गठन गर्नुपर्ने’ समय तोकेको हो । अन्यथा उपाधारा ३ बमोजिम सबैभन्दा बढी सिट प्राप्त गर्ने दलको नेता प्रधानमन्त्री चुनिने छन् ।

हालै गठन भएको प्रनिधिसभामा सबैभन्दा बढी सदस्य भएको दल नेपाली कांग्रेस रहेकाले यो उपधारा अन्तर्गत कांग्रेस संसदीय दलको नेता प्रधानमन्त्री नियुक्त हुने छ ।

तर, यसरी नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेमा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रतिनिधिसभाको कुनै पनि सदस्यले विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गरेमा त्यस्तो सदस्यलाई राष्ट्रिपतिले धारा ७६ को ५ अनुसार प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ । राष्ट्रपति भण्डारीले सरकार गठनका लागि दलहरूलाई आह्वान गर्ने सम्भावना भने न्यून छ ।

सरकार गठंनका लागि यस्तो छ अंकगणित
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमत प्राप्त गर्न कम्तीमा १३८ सांसद आवश्यक हुन्छ । प्रतिनिधिसभामा अहिले सबैभन्दा ठूलो दल नेपाली कांग्रेसको ८९ सिट छ । दोस्रो ठूलो दल नेकपा एमालेले ७८ सिट पाएको छ भने तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रले ३२ सिट ल्याएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले २० सिट, राप्रपाले १४ सिट, जनता समाजवादी पार्टीले १२ सिट र जनमत पार्टीले ६ सिट प्राप्त गरेका छन् । राष्ट्रिय पार्टी बन्न नसकेको नेकपा एकीकृत समाजवादीको १० सिट, लोसपाको ४ सिट, नागरिक उन्मुक्ति पार्टीको ३ सिट, राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टीले समान १–१ सिट प्राप्त गरेका छन् ।

पाँच स्वतन्त्र सांसद पनि यसपटक निर्वाचित भएका छन् । योगेन्द्र मण्डल, अमरेशकुमार सिंह, किरणकुमार साह, प्रभु साह र लालवीर चौधरी स्वतन्त्र सांसदको हैसियतमा विजयी भएका हुन् । अहिले सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोसपा र जनमोर्चाका सांसद जोड्दा १३६ पुग्छ ।

प्रतिक्रिया