६० वर्षपछि विश्वकपको उपाधि दोहोर्‍याउने पहिलो राष्ट्र बन्ने दाउमा फ्रान्स
अखबार टुडे
प्रकाशित:
२०७९, २९ मंसिर

काठमाडौं, २९ मंसिर । यो आउने आइतबार कतारमा जारी विश्वकपमा फ्रान्स र अर्जेन्टिनाबीच विश्वकप उपाधिका लागि भिड्दैछन् । सेमिफाइनलमा मोरोक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको फाइनलमा पुगेको हो ।

उपाधि उचाल्ने पहिलो अफ्रिकी देश बन्ने आशामा अगाडि बढेको मोरक्कोविरूद्ध बुधबार राति भएको सेमिफाइनलमा युरोपेली देश फ्रान्सले २–० को जित हासिल गर्दै फाइनलमा पुगेको छ । उसका लागि थिओ हर्नान्डेज र रन्डाल कोलो मुआनीले गोल गरेका थिए ।

मोरक्कोले लगातार विश्वकपको ट्रफी दोहो¥याउने गरी अगाडि बढेको फ्रान्सलाई रोक्नका लागि आक्रामक खेल प्रदर्शन गरेको थियो ।

आइतवार लुसैल रङ्गशालामा आर्जेन्टिनासँग फाइनल खेल्ने फ्रान्स ६० वर्षपछि पुरुषतर्फको विश्वकपको उपाधि दोहो¥याउने पहिलो राष्ट्र बन्न सक्छ । यसअघि सन् १९५८ र सन् १९६२ को विश्वकप लगातार ब्राजिलले जितेको थियो ।

बुधबार हरेक पटक बल आफ्नो नियन्त्रणमा राख्दा मोरक्को समर्थकबाट आएका लगातारका हुटिङबीच फ्रान्सले निकै सङ्गठित प्रदर्शन गर्दै कतारमा जारी विश्वकप टुङ्ग्याउने अर्को फुटबल शक्तिसँगको आफ्नो फाइनल खेल सुनिश्चित गरेको छ ।

एम्बाप्पेविरूद्ध मेस्सीको रूपमा हेरिएको आमधारणा आइतबारको खेलमा उत्कर्षमा पुग्नेछ । जतिखेर फ्रान्सले सन् २०१८ को मस्को विश्वकपमा क्रोएशियालाई फाइनलमा हराएझैँ इतिहास दोहो¥याउन खोज्नेछ ।

फ्रान्सका दिदिए देशाँ क्याप्टेन रहेको टोलीले सन् १९९८ मा आफ्नै देशमा आयोजित विश्वकपमा उपाधि उचालेको थियो । कोचका रूपमा उनै ५४ वर्षीय देशाँले यतिखेर दुईवटा विश्वकप जिताउँदै इतिहास रच्ने अवसर पाएका छन् ।

प्रतिक्रिया