दाइजो विवाद : घरमा ढुंगा बर्साउँदै गर्दा नेहा र निहारिका पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २९ मंसिर

महोत्तरी, २९ मंसिर । पछिल्लो समय आफ्ना पतिसँग सम्बन्ध बिग्रिएपछि बिहीबार घरमा ढुङ्गा बर्साउँदै गर्दा नेहा चौधरी र निहारिका राजपूत सहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पति डा.पङ्कज चौधरीको रामगोपालपुर–५ स्थित घरको मुख्यद्वारमा सहयोगी निहारिकासहित मङ्गलबारदेखि अनशनमा बसेकी नेहाले घरपरिसरमा ढुङ्गा बर्साउन थालेपछि त्यहाँ बढेको तनाव रोक्न दुवैलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

अनशनमा बसेका नेहा र निहारिकाले घरको मुख्यद्वारको ताल्चा नखोलिएर आफू घरभित्र पस्न नपाएको भन्दै गत मङ्गलबारदेखि नै धर्ना बस्दै आएका थिए ।

धर्नामा बसेकी नेहाले निहारिकाको सहयोगमा आपूmहरू धर्नामा बसेको तीन दिन भइसक्दा पनि आफ्नै घरमा पस्न नपाइएको भन्दै ढुङ्गा बर्साउन थालेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीको टोली घटनास्थल पुगेको थियो । नेहा र निहारिकाले अन्य सहयोगीको साथ लिँदै प्रहरी टोलीमाथि समेत ढुङ्गा बर्साएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कृष्ण पङ्गेनीले जानकारी दिए ।

प्रहरीले तनाव नियन्त्रण गर्न पाँच सेल अश्रुग्यास पनि फायर गरेको जनाएको छ । झडपका क्रममा चार सुरक्षाकर्मी घाइते भएका छन् ।

केही दिन पहिलेदेखि पति डा पङ्कज चौधरी र घरका परिवारजनले शारीरिक र मानसिक यातना दिँदै आएका आरोप लगाउँदै आएकी नेहाका पति डा पङ्कज चौधरीलाई प्रहरीले गत मङ्गलबार नै नियन्त्रणमा लिइसकेको छ ।

मुख्य आरोपीलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइसकेको अवस्थामा नेहा र निहारिकाले कोही नभएको घरमा ढुङ्गा बर्साएर अनावश्यक बखेडा खडा गरेका प्रहरी उपरीक्षक पङ्गेनीको भनाइ छ ।

लामो समय प्रेमसम्बन्धमा रहेर विवाह गरेका डा चौधरी र जिल्लाकै औरही–१ माइती भएकी नेहाबीच पतिले दाइजोमा काठमाडौँमा घर किनिदिन ससुराली पक्षलाई दबाब दिएपछि सम्बन्ध बिग्रँदै गएको नेहा पक्षको भनाइ छ ।

नेहा र डा. चौधरीको बिग्रँदै गएको सम्बन्धबारे समाचार प्रकाशित हुँदै आएपछि कुमारी आमाको नामले चिनिने निहारिका राजपूत नेहाको सहयोगमा जुटेकी हुन् । निहारिकाको पनि उच्च अदालत जनकपुरमा पति (प्रेमी)सँगको मुद्दा विचाराधीन छ ।

प्रतिक्रिया