गोल्डेन बुट र गोल्डेन बलको दौडमा मेस्सी अगाडि
अखबार टुडे
प्रकाशित:
२०७९, २९ मंसिर

काठमाडौं, २९ मंसिर । २२औं संस्करणको फिफा विश्वकप २०२२ को उपाधीका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन् । नेपाली समय अनुसार आइतबार राति ८ः४५ बजे लुसेल रंगशालामा फ्रान्स र अर्जेन्टिनाले उपाधिका लागि खेल्नेछन् ।

आइतबार उपाधिमात्र होइन, व्यक्तिगत रुपमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीका लागि गोल्डेन बुट, गोल्डेन बल, गोल्डेन ग्लोभ्स र योङ प्लेअर अवार्ड पनि राखिएको छ ।

यसपालि फ्रान्स र अर्जेन्टिनाका खेलाडीनै गोल्डेन बुट र गोल्डेन बलको दौडमा अगाडि देखिएका छन् । गोल्डेन बुटमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीसँगै फ्रान्सका युवा फरवार्ड केलियन एम्बाप्पे बीच प्रतिस्पर्धा छ ।

तर एम्बाप्पे जारी विश्वकपको पछिल्लो खेलमा गोल गर्न नसक्दा गोल्डेन बुटको दौडमा सुरूदेखिनै अगाडि रहेका उनलाई अर्जेन्टिनाका कप्तान लिओनल मेसीले उछिनेका छन् ।

दुवै खेलाडीले समान ५–५ गोल गरेका छन्। असिस्टको आधारमा लिओनेल मेसी शीर्षस्थानमा छन् । फिफाको नियम अनुसार गोल्डेन बुट विजेताको निर्धारणमा दुई वा सो भन्दा बढी खेलाडीको समान गोल भएको अवस्थामा असिस्ट संख्या गणना हुनेछ । असिस्ट पनि बराबरी भए कम मिनेट खेल्ने खेलाडीले गोल्डेन बुट पाउनेछन् । हाल मेसीको ३ असिस्ट र एम्बाप्पेको २ असिस्ट छ ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीले प्राप्त गर्ने गोल्डेन बलमा खेलाडीको सबै प्रदर्शन हेरिन्छ । यसमा खेलाडीले आफ्नो टोलीका लागि गरेको योगदान मापन गरिन्छ । हालको अवस्थामा मेसी नै गोल्डेन बलको पनि दावेदार छन् । मेसी सर्वाधिक असिस्टको सूचीमा पनि फ्रान्सका ग्रिजमनसँग बराबरीमा छन् । मेसी र ग्रिजमनले समान ३–३ असिस्ट दिएका छन् ।

यस्तै तेस्रो स्थानका लागि मोरक्को र क्रोएसिया शुक्रबार राति खलिफा इन्टरनेशनल स्टेडियमा खेल्नेछन् ।

प्रतिक्रिया