ढाकाटोपी ढल्काएर विवेक ओबराय भन्छन्- नेपाल–भारतबीच सांस्कृतिक सम्बन्ध छ
अखबार टुडे
प्रकाशित:
२०७९, २९ मंसिर

काठमाडौं, २९ मंसिर । बलिउड अभिनेता विवेक ओबराय आफ्ना परिवारसहित अहिले नेपालमा छन् । बुधबार साँझ काठमाडौं आइपुगेका उनले बिहीबार बिहान पशुपतिनाथको दर्शन गरेका छन् ।

नेपाली व्यवसायी पुनम यादवको पहलमा काठमाडौं आएका विवेकले आजै चन्द्रागिरी घुम्ने र त्यसपछि जहाजबाट पोखरा जाने तालिका छ । १० दिने नेपाल भ्रमणका आएका विवेकको परिवारले धौलागिरि हिमालको अवलोकन सँगै लुम्बिनी दर्शन गर्ने कार्यक्रम रहेको छ ।

बुधबार साँझ त्रिभुवन विमानस्थलमा अवतरण गर्दा उनलाई नेपालको राष्ट्रिय झण्डा र ढाकाटोपी प्रदान गरिएको थियो । त्यसपछि पत्रकारहरुसँग उनले भने, ‘म पहिलो पटक नेपाल आएको हुँ । तर, मेरो बुवाआमा कैंयनपटक आउनुभएको छ । मलाई पशुपतिनाथको दर्शन गर्नुथियो र बच्चाहरुलाई नेपाल देखाउनुथियो ।’

उनले नेपाल र भारतबीच सांस्कृतिक सम्बन्ध रहिआएको बताउँदै भने, ‘मलाई लाग्छ, बच्चाहरुलाई पनि नेपाल देख्नुपर्छ र मैले पनि हेर्नुपर्छ ।’ उनी २४ डिसेम्बरमा भारत फर्कने कार्यक्रम छ ।

प्रतिक्रिया