मेस्सी भन्छन्, ‘यो मेरो अन्तिम विश्वकप’
अखबार टुडे
प्रकाशित:
२०७९, २८ मंसिर

काठमाडौं, २८ मंसिर । अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप आफ्ना लागि अन्तिम विश्वकप भएको बताएका छन् ।

मंगलबार राती भएको क्रोएसियाविरूद्धको खेलमा ३–० को जित निकालेर फाइनल पुगेपछि ३५ वर्षीय मेसीले विश्वकप यात्रा सकिने बताएका हुन् ।

अर्जेन्टेनी मिडिया डायरिओ डेपोर्टिभो ओलेसँगको कुराकानीमा मेस्सीले भने, ‘धेरै खुशी अनुभव भइरहेको छ । फाइनलमा अन्तिम खेल खेल्दै विश्वकपको यात्रा समाप्त गर्न पाउनु खुशीको कुरा हो ।’

अर्को विश्वकप आउन चार वर्ष बाँकी रहेको र त्यतिबेला आफूले अहिलेजस्तै खेल्न सक्छुजस्तो नलागेको बताउँदै मेस्सीले भने, ‘यो यात्रालाई यसरी (फाइनल खेलेर) नै टुंग्याउनु सबैभन्दा राम्रो हो ।’

अर्जेन्टिनाले सन् १९८६ पछि विश्वकपको उपाधि उचाल्न पाएको छैन । दुई पटकको विश्व विजेता अर्जेन्टिना छैटौं पटक फाइनलमा पुगेको छ । बुधबार राती हुने मोरक्को र फ्रान्सबीचको सेमिफाइनल विजेतासँग आइतबार अर्जेन्टिनाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया