अर्जेन्टिनाबाट सर्वाधिक गोल गर्ने खेलाडी बनेका मेस्सीले विश्वकपमा सर्बाधिक खेलको कीर्तिमान बराबर गरे
अखबार टुडे
प्रकाशित:
२०७९, २८ मंसिर

काठमाडौं, २८ मंसिर । अर्जेन्टिजनमन सुपरस्टार लियोनल मेस्सीले कतारमा जारी फिफा विश्वकप सेमिफाइनलमा क्रोएसियाविरुद्धको खेलमा नयाँ इतिहास बनाएका छन् । मेस्सीले फिफा विश्वकपको इतिहासमा सर्बाधिक खेलको कीर्तिमान बराबरी गरेका हुन् ।

उनले मंगलबार दोहाको लुसेल रंगशालामा विश्वकपमा आफ्नो २५ औं खेल खेले । जसमा क्रोएसियालाई ३-० ले हराएर आठ बर्षपछि छैटौंपल्ट फिफा विश्वकपको फाइनलमा पुगेको छ, अर्जेन्टिना । उनको २५ खेलमा ११ मध्ये ९ गोलका लागि असिस्ट गरेका छन् ।

यो जर्मनीका महान खेलाडी लोथर म्याथ्युजसँग बराबरीको कीर्तिमान हो । विश्वकप इतिहासमा जर्मनीका म्याथ्युजले सर्वाधिक २५ खेल खेलेको कीर्तिमान छ । अब आइतबार अर्जेन्टिनाले लुसेल रंगशालामै फ्रान्स वा मोरक्कोसँग भिड्ने छ र कप्तान मेस्सी विश्वकपमा सबैभन्दा धेरै खेल खेल्ने खेलाडी बन्नेछन् ।

यसैबीच क्रोएसियाविरुद्ध पेनाल्टीमार्फत पहिलो गोल गरेका लियोनल मेस्सी अर्जेन्टिनाका लागि विश्वकपमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । मेस्सीले गएरातिको गोलसँगै ग्याब्रिएल बाटिस्टुटाले बनाएको १० गोलको कीर्तिमान तोडेका हुन् ।

अर्जेन्टिनाका लागि डिएगो म्याराडोना र गिलेर्मो स्ताबिलले विश्वकपमा समान ८–८ गोल गरेका छन् । मेस्सीले जारी कतार विश्वकपमा ५ गोल गर्दै गोल्डेन बुटको दाबेदार समेत बनेका छन् ।

उनले यस विश्वकपमा सर्वाधिक गोलकर्ता सूचिमा फ्रान्सका केलियन एमबाप्पेसँग समान ५ गोल गरेका छन् । यस्तै उनले सर्वाधिक ३ असिस्टसमेत गरेका छन् ।

प्रतिक्रिया