काभ्रेमा व्रतबन्धबाट फर्कँदै गरेको बस दुर्घटना हुँदा १७ जनाको मृत्यु
अखबार टुडे
प्रकाशित:
२०७९, २७ मंसिर

बनेपा, २७ मंसिर । काभ्रेको बेथानचोक गाउँपालिका–४, चलाल गणेशस्थानमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । तर, यो समाचार तयार पार्दासम्म मृत्यु हुनेहरुको परिचय खुलिसकेको छैन ।

मंगलबार साँझ बनेपा नगरपालिका–११ बाट ब्रतबन्धका लागि बेथानचोक गाउँपालिका–५, च्याल्टी पुगेर फर्किँदै गरेको बा ३ ख ४३८५ नम्बरको रिजर्भ बस दुर्घटनामा परेको हो ।

काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेका अनुसार घटनास्थल, शीर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा गरी १७ जनाको मृत्यु भएको हो । बसमा सवार कति थिए भन्ने पनि अहिलेसम्म यकिन भइनसकेको प्रहरीको भनाइ छ । दुर्घटनाको कारण खुलेको छैन ।

घटनास्थलबाट नेपाल प्रहरी र नेपाली सेनाको टोलीले डोजरसमेत प्रयोग गरी उद्धार कार्य भइरहेको प्रजिअ पाण्डेले बताइन् ।
यसैबीच, गृहमन्त्री बालकृष्ण खाँणले दुर्घटनाका घाइतेहरुलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पतालसम्म पु¥याउने व्यवस्था गर्न गृह प्रशासन, काभ्रेका प्रमुख जिल्ला अधिकारी पाण्डे र जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक चक्रराज जोशीलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री खाँणले गृहसचिव विनोदप्रकाश सिंहलाई उपचारका दुर्घटनाका घाइतेको उपचारका लागि जिल्लाको स्रोत र साधनले नपुग्ने भए मन्त्रालयबाट तत्काल व्यवस्था गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया