जर्मनीकी जस्मिन सेलबर्गले जितिन् मिस इन्टरनेसनल २०२२ को उपाधि
अखबार टुडे
प्रकाशित:
२०७९, २७ मंसिर

काठमाडौं, २७ मंसिर । जर्मनीकी २२ वर्षीया जस्मिन सेलबर्गले मिस इन्टरनेसनल २०२२ को उपाधि जितेकी छन् । जस्मिनले प्रतियोगितामा ६५ प्रतिस्पर्धीलाई पछि पार्दै उपाधि जितेकी हुन् ।

जापानको राजधानी टोकियोमा आयोजित ग्रान्ड फिनालेमा काबो भर्डी फस्ट रनरअप, पेरु सेकेण्ड, कोलम्बिया थर्ड र डोमिनिकन रिपब्लिक फोर्थ रनरअप घोषित भएका छन् ।

मिस इन्टरनेसनलको ६० औं संस्करणको प्रतिस्पर्धामा विश्वका ६६ सुन्दरीले प्रतिस्पर्धा गरेका थिए । सन् २०२० र २०२१ को संस्करण कोभिड महामारीले हुन सकेका थिएनन् ।

यसपटकको पेजेन्टको नारा दिगो विकासका लागि सौन्दर्य राखिएको थियो । राष्ट्रसंघीय सहश्राब्दी लक्ष्यको लोगो लगाएर प्रतिस्पर्धीले ¥याम्प नापेका थिए । प्रतिस्पर्धीले पाँच महादेशका कन्टिनेन्टल क्वीनको लागि पनि मतदान गरे ।

जसमा एसियाबाट जापान, अफ्रिकाबाट काबो भर्डी, युरोपबाट फिनल्याण्ड, ओसियानाबाट न्युजिल्याण्ड र उत्तर अमेरिकाबाट अमेरिका कन्टिनेन्टल क्वीन घोषित भए । उज्वेकिस्तानले नेसनल कस्ट्युम, पेरुले इभिनिङ गाउन, बेलायतले स्वीमसुट र इक्वेडरले मिस फोटोजेनिक विधामा जित दर्ता गरे ।

नेपालबाट यसपटक न्यान्सी खड्काले प्रतिस्पर्धा गरेकी थिइन् । इभिनिङ गाउन, स्वीमसुट र अन्य क्रियाकलापमा राम्रो प्रतिक्रिया प्राप्त गरे पनि नेपाल अन्तिम १५ मा पनि प्रवेश गर्न सकेन । यसपटक नेपालले हिमाली चरा मुनालबाट प्रभावित भएर नेसनल कस्ट्युम डिजाइन गरेको थियो ।

तीन जना मिस नेपालमध्ये अब विश्व सुन्दरी प्रतियोगिता मात्र हुन बाँकी छ । मिस अर्थ र मिस इन्टरनेसनल इभेन्ट सम्पन्न भइसकेका छन् ।

प्रतिक्रिया