ज्याकलिन फर्नान्डिसविरुद्ध अभिनेत्री नोरा फतेहीले हालिन् मानहानीको मुद्दा
अखबार टुडे
प्रकाशित:
२०७९, २७ मंसिर

काठमाडौं, २७ मंसिर (एजेन्सी) । भारतीय अभिनेत्री नोरा फतेहीले ज्याकलिन र केही मिडिया कम्पनीविरुद्ध दिल्ली अदालतमा मानहानीको मुद्दा दायर गरेकी छन् । नोराले ज्याकलिनविरुद्ध २०० करोड भारुको मानहानीको मुद्दा दायर गरेकी हुन् ।

नोराले सुकेश चन्द्रशेखरसँग संलग्न रहेको २०० करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दामा आफ्नो नाम जबरजस्ती प्रयोग गरिएको आरोप लगाएकी छन् । नोराले ज्याकलिन र १५ मिडिया हाउसविरुद्ध मानहानीको मुद्दा दायर गरेकी हुन् । नोराले ज्याकलिन र मिडिया संस्थाहरु ‘एकअर्कासँग मिलेर काम गरिरहेको’ दाबी गरेकी छन् ।

नोराले वकिलमार्फत दायर गरेको निवेदनमा ‘उजुरीकर्ताको आर्थिक, सामाजिक र व्यक्तिगत चरित्र पतन गराउन षड्यन्त्र रचिएको र अभियुक्त नं. १ ले उक्त कारवाही गरेको’ बताएकी छन् ।

नोराले सुकेशसँग आफ्नो प्रत्यक्ष सम्पर्क भने नभएको बताइन् । उनले सुकेशकी श्रीमती लीना मारिया पलमार्फत सुकेशलाई चिनेको बताएकी छन् । नोराले सुकेश चन्द्रशेखरबाट उपहार लिएको पनि अस्वीकार गरेकी छन् । मिडिया ट्रायलका कारण आफ्नो इज्जतमा चोट पुगेको नोराको भनाइ छ ।

उल्लेखनीय कुरा के छ भने ज्याकलिन र नोरा मनी लान्ड्रिङ मुद्दामा ईडीको निशानामा छन् । ३७ वर्षीया अभिनेत्री ज्याकलिनविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दामा प्रवर्तन निर्देशनालय (ईडी) ले अनुसन्धान गरिरहेको छ । ज्याकलिनमाथि आर्थिक अनियमितताको आरोप लागेको छ । उनीमाथि सुकेश चन्द्रशेखरबाट महँगो उपहार लिएको र मनी लान्ड्रिङ गरेको आरोप छ ।

ईडीले ज्याकलिन र नोरा दुवैलाई मनी लान्ड्रिङ मामिलामा सोधपुछका लागि धेरै पटक बोलाएको छ । तर, यस विषयमा अहिलेसम्म कुनै खास जानकारी आएको छैन । पटियाला अदालतले यस विषयमा डिसेम्बर १९ मा सुनुवाइ गर्नेछ ।

प्रतिक्रिया