रेशम चौधरीलाई छुटाउन सरकारले ल्याएको अध्यादेशविरुद्ध एमाले निकट अनेरास्ववियुको विरोध प्रदर्शन
अखबार टुडे
प्रकाशित:
२०७९, २७ मंसिर

काठमाडौं, २७ मंसिर । सरकारले रेशम चौधरीको रिहाइका लागि अध्यादेश ल्याएको भन्दै नेकपा एमाले सम्बद्ध विद्यार्थी संगठन अनेरास्ववियुले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याउने निर्णय गरेपछि मंगलबार बिहान त्रिचन्द्र क्याम्पस अगाडि अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको विरोध प्रदर्शनमा विद्यार्थीहरुले ‘गठे सरकार बनाउन प्रमादेश’, ‘अपराधीलाई छुटाउन अध्यादेश’, ‘रेशमलाई देखाउने आलामलाई छुटाउने’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

सरकारले मुलुकी फौजदारी अपराध संहिता (२०७४) संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि चौतर्फी विवाद सुरु भएको छ । रेशम चौधरीको रिहाइ लागि सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि सोमबार शीतल निवास पठाइएको हो ।

टीकापुर घटनाका राजबन्दी, विपल्व र सीके राउतका कार्यकर्ताको मुद्दा रिहाइका लागि सरकारले अध्यादेश ल्याएको हो । आइतबारको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया