फिफा विश्वकप : आज दुई उत्कृष्ट फुटबलर मेसी र मोड्रिक भिड्दै, यस्तो छ दुवै देशको विगत
अखबार टुडे
प्रकाशित:
२०७९, २७ मंसिर

काठमाडौं, २७ मंसिर । फिफा विश्वकप २०२२ को पहिलो सेमिफाइनल खेल आज (मंगलबार) हुँदैछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल आज राति पौने १ बजे कतारको लुसेल रंगशालामा हुँदैछ ।

अर्जेन्टिनाले नेदरल्याण्ड्स र क्रोएसियाले पाँच पटकको विश्व विजेता ब्राजिललाई हराएर सेमिफाइलनको यात्रा तय गरेका हुन् ।

आजको खेलमा अर्जेन्टिनाले क्रोएसियालाई भुलेर पनि कमजोर ठान्ने छैन । किनकी, २०१८ को विश्वकपमा समूह चरणमा क्रोएसियाले अर्जेन्टिनामाथि ३–० गोलको जित निकालेको थियो ।

समान १० नम्बरको जर्सी र बालन डि अर विजेता दुई कप्तान मेसी र मोड्रिकका लागि संन्यास लिनुअघि विश्वकपको उपाधि जित्ने यो अन्तिम अवसर हुन सक्छ । आज अर्जेन्टिनका लागि मोड्रिक र क्रोएसियाका लागि मेसी चुनौती बन्ने छ । जारी विश्वकपमा ३५ वर्षीय मेसी र मोड्रिक दुवैको आफ्नो टिममा प्रभाव छ ।

यस्तो छ दुवै देशको विगत
अर्जेन्टिना र क्रोएसियाबीच विश्वकपमा विगत भेट पनि रोचक छ । विश्वकपमा दुवै टोली एक÷एक खेलमा विजयी भएका छन् । अर्जेन्टिनाले सन् १९९८ को विश्वकपको समूह चरणको भेटमा १–० को जित हात पारेको थियो भने क्रोएसियाले मेसीको टिमलाई रुस (सन् २०१८) मा ३–० ले हराएको थियो ।

यी दुईवीच भएका पाँच अन्तर्राष्ट्रिय खेलमा दुवैले दुई–दुई खेल जितेका छन् । एक खेल बराबरीमा टुंगिएको छ । एकअर्कासँगका पाँच वटा खेलमा क्रोएसियाले ७ गोल र अर्जेन्टनाले ५ गोल गरेका छन् । यी तथ्यांकले पनि अर्जेन्टिना–क्रोएसियाको प्रतिस्पर्धा रोमान्चक हुने संकेत गर्छ ।

अर्जेन्टिनाले सन् १९७८ र १९८६ मा गरी दुई पटकसम्म विश्वकपको उपाधि जितेको छ भने तीन पटक फाइनलमा पुगेको छ । क्रोएसियाले अहिलेसम्म विश्वकपको उपाधि जितेको छैन् । सन् २०१८ विश्वकप फाइनलमा क्रोएसिया फ्रान्ससँग पराजित हुँदै उपविजेता बनेको थियो ।

साथै आजको सेमिफाइनल खेलपछि मेस्सीले जर्मनीका लोथर मथाउसको कीर्तिमान बराबरी गर्नेछन् । विश्वकप इतिहासमा जर्मनीका मथाउसले सर्वाधिक २५ खेल खेलेको कीर्तिमान छ । सेमिफाइनलको अर्काे खेलमा भोलि राति पौने एक बजे फ्रान्स र मोरक्कोबीच अल बयात रंगशालामा प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया