अरूणाचलमा भारत र चीनका सैनिकबीच झडप, कैयौं घाइते
अखबार टुडे
प्रकाशित:
२०७९, २७ मंसिर

नयाँदिल्ली, २७ मंसिर (एजेन्सी) । अरूणाचल प्रदेशको याङ्जी तवाङ क्षेत्रमा भारत र चीनका सैनिकहरूबीच फेरि झडप भएको छ ।

भारतीय समाचार पत्र द हिन्दुका अनुसार अरूणाचलको सिमानामा गत शुक्रबार अर्थात ९ डिसेम्बरमा झडप हुँदा भारत र चीनका कैयौं सैनिकहरू घाइते भए पनि यसको विस्तृत विवरण भने आइसकेको छैन । घाइते भएका भारतीय सैनिकहरूलाई उपचारका लागि गुवाहटी लगिएको छ ।

पीएलएका सेना अरुणाचल प्रदेशको तवङ क्षेत्रमा प्रवेश गरेपछि उक्त झडप भएको बताइएको छ । भारतीय सेनाका अनुसार दुवै देशका सेना तत्काल घटनास्थलबाट पछि हटेका थिए । झडपपछि शान्ति कायम गर्न इलाका कमाण्डरले चिनियाँ समकक्षीसँग वार्ता गरेका थिए ।

यस क्षेत्रमा विगतमा पनि झडप हुने गरेको थियो । भारत र चीनको विवादित भूभाग अरुणाचलमा हाल भारतको नियन्त्रण रहेको छ । उक्त क्षेत्रलाई चीनले दक्षिणी तिब्बत भन्दै दाबी गरिरहेको छ ।

सैनिक र कुटनीतिक तहमा सीमा विवाद सल्टाउने र उक्त क्षेत्रमा शान्ति कायम गर्ने विषयमा पटक–पटक वार्ता भए पनि समस्या हल हुन सकेको छैन । पछिल्लोपटक अक्टोबर २०२१ मा सीमा नजिकैको याङ्सेमा क्षेत्रमा दुई देशका सैनिक आमनेसामने भएका थिए ।

त्यसअघि सन् २०२० को जुन महिनामा पूर्वी लद्दाखको गलवान उपत्यकामा झडप भएको थियो । उक्त झडपमा करिब दुई दर्जन भारतीय सैनिक र केही चिनियाँ सैनिकको मृत्यु भएको जनाइएको थियो ।

त्यसअघि भुटान नजिकैको विवादित सीमा क्षेत्र दोक्लाममा पनि भारतीय र चिनियाँ सैनिकबीच झडप भएको थियो । त्यसअघि सन् १९६२ मा भारत र चीनबीच सीमा विवादका कारण युद्ध भएको थियो ।

उक्त युद्धपछि दुई देशका सैनिकले एकले अर्काविरुद्ध हतियार नचलाऔने सहमति भए बमोजिम युद्ध भने भएको छैन । हतियारबन्द युद्ध नभए पनि दुई देशबीच तनाव भने निरन्तर दोहोरिँदै आएको छ ।

प्रतिक्रिया