जाजरकोटमा विमारी बोकेको जीप दुर्घटना, ११ जनाको मृत्यु (मृतकको नामावलीसहित)
अखबार टुडे
प्रकाशित:
२०७९, २६ मंसिर

काठमाडौं, २६ मंसिर । जाजरकोटमा जीप दुर्घटनामा ११ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार ९ जनाको घटनास्थलमै र २ जनाको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

सोमबार (आज) दिउँसो साढे ४ बजेतिर छेडागाड नगरपालिका–४ स्थित खातिजेवाबाट वडा नम्बर ५ मा रहेको नगर अस्पतालमा उपचारको लागि बिरामी लिएर जाँदै गरेको जीप दुर्घटना भएको थियो ।

कर्णाली प्रदेश ०२–०० १ च ०४२९ नम्बरको बोलेरो जीप भिरबाटी भन्ने स्थानमा अनियन्त्रित भएर २०० मिटर तल खसेको थियो । उक्त जीप चालक मानबहादुर रावतले चलाएका थिए ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय दशेराबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको टोली उद्धारमा खटिएको छ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनास्थल इलाका प्रहरी कार्यालय दशेराबाट करिब ८ किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालयबाट ४६ किलोमिटर पश्चिममा पर्छ ।

दुर्घटनामा मृत्यु हुनेहरुमा चालक मानबहादुर रावत, भगवतीमाई गाउँपालिका– २ दैलेख, भगवतीमाई गाउँपालिका दैलेखकै अम्मरबहादुर खड्का, भगवतीमाई –३ दैलेखका सुरेन्द्र केसी, छेडागाड नगरपालिका–६ जाजरकोटका वीर बहादुर खत्री र छेडागाड ५ जाजरकोटका जयकुमार बुढा रहेका छन् ।

यस्तै, नैसरा अधिकारी, छेडागाड ५ जाजरकोट, रामबहादुर बुढा, छेडागाड–६ जाजरकोट, दीपक अधिकारी, छेडागाड ५ जाजरकोट, देवीसरा बुढा छेडागाड ५ जाजरकोट, अम्मरबहादुर अधिकारी, छेडागाड ५ जाजरकोट र निशा अधिकारी, छेडागाड जाजरकोटको पनि मृत्यु भएको छ ।

घाइते छेडागाड– २ का जयनाथ अधिकारीलाई उपचारका लागि नेपालगन्ज पठाइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।

प्रतिक्रिया