आजदेखि ट्वीटरमा ब्लु सब्सक्रिप्सन पुनः सुरु हुँदै, के छ परिवर्तन ?
अखबार टुडे
प्रकाशित:
२०७९, २६ मंसिर

काठमाडौं, २६ मंसिर (एजेन्सी) । एलन मस्कको कम्पनी ट्वीटरले आजदेखि शुल्क तिरेर ब्लु टिक प्राप्त गर्ने सब्सक्रिप्सन प्याकेज पुनः सुरुवात गर्ने भएको छ । ट्वीटरले डिसेम्बर १२ (आज) देखि ब्लू टिक सब्सक्रिप्सन पुनः सुरु गर्न लागेको हो ।

यो सँगै अब प्रयोगकर्ताले शुल्क तिरेर आफ्नो अकाउन्ट भेरिफाइड गराउन सक्नेछन् र त्यस्ता भेरिफाइड अकाउन्टहरुमा ट्वीट एडिट गर्नेदेखि अन्य विभिन्न सुविधाहरु प्राप्त हुने बताइएको छ ।

ट्वीटरको यो सशुल्क सेवा खरिद गर्नका लागि मासिक ८ डलर शुल्क तिर्नुपर्नेछ । तर आइफोन प्रयोगकर्ताले ट्वीटरमा ब्लू टिक लिनका लागि मासिक ११ डलर तिर्नुपर्नेछ ।

ट्वीटरले यसपटक प्रयोगकर्ताका अकाउन्टको समीक्षा सुक्ष्म ढंगले गर्नेछ । केवल भेरिफाइड फोन नम्बरवालाका लागि मात्र अब ट्वीटरमा ब्लू टिक प्राप्त गर्नेछन् । यसका लागि ट्वीटरका कर्मचारी स्वयंले अकाउन्टहरुको समीक्षा गर्नेछन् ।

अकाउन्टको समीक्षा र प्रमाणीकरण पश्चात् प्रयोगकर्तालाई भेरिफिकेसन ब्याज अर्थात् ब्लू टिक दिइनेछ । ब्लू टिकधारी अकाउन्टमा प्रयोगकर्ताले आफ्ना गरिसकेका ट्वीट एडिटसमेत गर्नसक्ने सुविधा रहने बताइएको छ ।

यद्यपि ट्वीट गरेको ३० मिनेट भित्रैमा ट्वीटलाई एडिट गरिसक्नुपर्ने हुन्छ । यसका अलावा ट्वीटरमा १०८० पिक्सेल भिडियो पनि अपलोड गर्न र लामो लामो ट्वीट समेत गर्न सकिनेछ । सब्सक्रिप्सन लिने प्रयोगकर्ताका ट्वीटलाई प्राथमिकता प्राप्त हुने र अन्य सामान्य प्रयोगकर्ताको तुलनामा उनीहरुले टाइमलाइनमा ५० प्रतिशत कम विज्ञापन देख्नेछन् ।

फोटो तथा नाम परिवर्तन गर्दा ब्लू टिक हट्नेछ
रोचक त के छ भने यदि ब्लू टिकधारी ट्वीटर अकाउन्टमा प्रयोगकर्ताले आफ्नो नाम वा प्रोफाइल तस्वीर परिवर्तन गर्यो भने अकाउन्टबाट ब्लू टिक हट्नेछ । त्यसपछि प्रयोगकर्ताको अकाउन्टको पुनः समीक्षा तथा भेरिफिकेसन गरेर मात्र ब्लू टिक दिइनेछ । कुनैपनि विशेष अभियान तथा विरोधमा आफ्नो ट्वीटरको प्रोफाइल तस्वीर वा नाम परिवर्तन गर्ने प्रयोगकर्तामाथि ट्वीटरले विशेष निगरानी गर्ने बताइएको छ ।

ट्वीटरले आफ्नो अफिसियल अकाउन्टबाट ट्वीट गर्दै भनेको छ: सब्सक्राइबरहरुले आफ्नो ह्याण्डल, डिस्प्ले नाम वा प्रोफाइल फोटो परिवर्तन गर्न सक्नेछन् तर यसो गर्दा अस्थायी रुपमा ब्लू टिक हटाइनेछ । त्यसपछि उक्त अकाउन्ट पुनः भेरिफिकेसन गरिनेछ ।

प्रतिक्रिया