फिफा विश्वकप- गोल्डेन बुटको दौडमा एमबाप्पे अगाडि, पछ्याउँदै मेसी र जिरउड
अखबार टुडे
प्रकाशित:
२०७९, २६ मंसिर

काठमाडौं, २५ मंसिर । कतारमा जारी फिफा विश्वकप २०२२ अन्र्तगत चार टोली क्रोएसिया, अर्जेन्टिना, फ्रान्स र मोरक्को सेमिफाइनल पुगेका छन् । यी मध्ये एकले उपाधि जित्ने पक्का छ ।

विश्वकपमा केही व्यक्तिगत पुरस्कारहरु समेत राखिएको छ । जुन कसले जित्ला भनेर सबैलाई चासो छ । त्यसमध्ये गोल्डेन बुट अवार्ड एक हो । प्रतियोगिताभर सर्वाधिक गोल गर्ने खेलाडीलाई प्रदान गरिने गोल्डेन बुटको दौडमा फ्रान्सका दुई र अर्जेन्टिनाका एक खेलाडी अगाडि छन् । उनीहरुबीच एक जनाले गोल्डेन बुट जित्न सक्ने बलियो सम्भावना देखिएको छ ।

फ्रान्सका युवा फवार्ड किलिएन एमबाप्पेले सर्वाधिक ५ गोल गरेका छन् । दुई असिस्ट समेत गरेका र दोस्रो स्थानमा रहेका लिओनल मेसी भन्दा थोरै मिनेट खेलेका कारण पनि २३ बर्षीया एमबाप्पे गोल्डेन बुट होडमा दाबेदारको रुपमा छन् ।

वर्तमान पुस्ताको उत्कृष्ट मध्ये एक अर्जेन्टिनाका कप्तान लिओनल मेसीले जारी विश्वकपमा ४ गोल र २ असिस्ट गरेका छन् । ३५ वर्षीय मेसीले यो विश्वकप नै आफ्नो अन्तिम हुने बताइसकेका छन् । २०१४ मा विश्वकपमा उत्कृष्ट खेलाडी हुँदै गोल्डेन बल जितिसकेका मेसीले गोल्डेन बुट भने जित्न बाँकी छ । अर्जेन्टिनाले फाइनल पुग्दै उपाधि जितेमा मेसीले यो अवार्ड पनि जित्ने सम्भावना छ ।

फ्रान्सका ३६ वर्षीय जिरउडले जारी विश्कवमपा मेसीसमान ४ गोल गरेका छन् । उनले असिस्ट भने गरेका छैन । जिरउडले यसै विश्वकपमा फ्रान्सका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान समेत बनाएका छन् । जिरउडले प्रान्सका लागि सर्वाधिक ५२ गोल गर्ने कीर्तिमान बनाएका थिए । उनले ११७ खेलमा उक्त उपलब्धि हासिल गरे । यसअघि फ्रान्सका लागि थियरी हेनरी सर्वाधिक ५१ गोल गरेका थिए ।

तीन गोल गर्ने ७ खेलाडी भने यस होडबाट बाहिरिसकेका छन् । उनीहरु खेल्ने देश विश्वकपबाट बाहिरिसकेकोले ७ खेलाडीको चुनौती सकिएको हो । पोर्चुगलका गोन्सालो रामोस, स्पेनका अल्भारो मोराटा, इंग्ल्याण्डका मार्कोस रासफोर्ड र बुकाय साका, इक्वेडरका इनर भ्यालेन्सिया, ब्राजिलका रिचार्लिसन र नेदरल्याण्ड्सका कोडी गाक्पोले ३ गोल गरेका थिए । पोर्चुगलका रामोस एकै खेलमा तीन गोल गर्दै जारी विश्वकपमा ह्याट्रिक गर्ने एक्लो खेलाडी हुन् ।

२१ खेलाडीले २–२ गोल गरेका छन् । जसमध्ये १८ खेलाडी यो होडबाट बाहिरिसकेका छन् । सेमिफाइनल पुगेका मध्ये अर्जेन्टिनाका युलियन अल्भारेज, क्रोएसियाका आन्द्रे क्रामारिक र मोरक्कोका युसुफ एन नेस्री भने अझै पनि होडमा छन् । धेरै गोल गर्नेमा दोस्रो हुनेले शिल्भर बल र तेस्रो हुनेले ब्रोन्ज बल पाउनेछन् ।

प्रतिक्रिया