हनी ट्रयापमा पारेर पैसा असुल्न खोज्ने दुई युवतीसहित तीन पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर

काठमाडौं, २५ मंसिर । रिसोर्टमा भेट्न बोलाउँदै फसाउने दुई महिलासहितको गिरोह पक्राउ परेको छ । दाङ प्रहरीले दुई महिला र एक पुरुषलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा तुलसीपुरकी अनुष्का सिंह भन्ने कृष्णा गहतराज, कृष्णा कुमारी बस्नेत र घोराहीका रुद्र बहादुर केसीलाई पक्राउ गरेको छ ।

उनीहरुले एक युवकलाई फसाएको र थप पैसा माग्दै धक्काउदै आएको प्रहरीले जनाएको छ । रिसोर्टमा बोलाएर सम्बन्ध राख्ने र बलात्कार मुद्दामा फसाउने भन्दै उनीहरुले धम्काउने गरेका थिए ।

पैसावाल व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत चिनजान गरी यसरी हनि ट्रापिङमा फसाउँदै आएको प्रहरीले जनाएको छ । एक व्यापारीसँग उनीहरुले लाखौं असुलीसकेका थिए ।

थप पैसा माग्दै कोबिला रिसोर्टमा भेट्न बोलाएका थिए । त्यही तीनै जना पक्राउ परेका हुन् । पक्राउ परेकालाई एक्सटोर्सन मुद्दामा कारबाही अघि बढाइएको दाङका डिएसपी राजन गौतमले बताए ।

प्रतिक्रिया