जबरालाई पत्र दिनुको कारण संवैधानिक इजलासमै जानकारी गराउँने सर्वोच्चलाई संसद महासचिवको जवाफ
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर

काठमाडौं, २५ मंसिर । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी भएको पत्र लेख्ने संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले सर्वोच्च अदालतले पठाएको पत्रको जवाफ दिएका छन् ।

गौतमले सर्वोच्च अदालतले पठाएको चिट्ठीबारे अन्तरिम आदेशको लिखित जवाफको क्रममा समावेश हुने पूर्ण बैठकमा प्रस्तुत गर्ने जानकारी गराएका हुन् ।

जबरालाई निलम्बन निष्प्रभावी भएको पत्र दिएपछि सर्वोच्च अदालतको पूर्ण बैठकले प्रश्नको जवाफ माग गर्दै संघीय संसदका महासचिवलाई पत्र पठाएको थियो ।

पत्रको जवाफमा गौतमले भनेका छन्, ‘सर्वोच्च अदालतको पूर्ण बैठकको २०७९÷०८÷२१ को निर्णय अनुसार सोधिएको विषयहरुको जानकारी पनि अन्तरिम आदेशको लिखित जवाफको क्रममा नै समावेश हुने व्यहोरा पूर्ण बैठकसमक्ष सादर अनुरोध गर्दछु ।’

प्रधानन्यायाधीश जबराविरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएपछि संसद सचिवालयका महासचिवले दिएको पत्र कार्यान्वयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । सर्वोच्चले जबरालाई संसद महासचिवले काटेको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतले जबरामाथि महाभियोग निष्प्रभावी गरिएको बारे संसद सचिवालयका महासचिव भरतराज गौतमलाई प्रश्न सोधेको थियो ।

प्रतिक्रिया