राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असुली गर्ने ८ जना पक्राउ
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर

काठमाडौं, २५ मंसिर । आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असुल गर्ने आठ जना पक्राउ परेका छन् ।

आफूहरु आन्तरिक राजस्व कार्यालय लाजिम्पाटको कर्मचारी हौं भन्दै काठमाडौंको बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट रकम असुल गर्ने ८ जनालाई प्रहरीले पक्राउ गेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी भरत बोहरा अनुसार बसपार्क क्षेत्रका होटल, रेष्टुरेन्ट, पसल र फुटपाथ पसलबाट समेत गरी ५ लाख रुपैयाँ भन्दा बढी रकम असुलेको पाइएको छ ।

पक्राउ पर्नेमा पूर्वी नवलपरासीका मीनबहादुर बिक, पाँचथरकी सिर्जना भट्टराई, अछामकी सागर जंग लुहार, सिन्धुपाल्चोककी प्रमिसा तामाङ, अछामकी दूधकला विक, नुवाकोटकी अञ्जना तामाङ र कञ्चनपुरका राजीव विष्ट र डेविड धामी रहेका छन् ।

उनीहरुले आन्तरिक राजस्व कार्यालयको कर्मचारीले जस्तै पोशाक लगाउनुका साथै परिचय पत्र पनि बोकेका प्रहरीले जनाएको छ । स्थानीय व्यवसायीले शंका लागेर प्रहरीलाई खबर गरेपछि २३ मंसिरको साँझ प्रहरी वृत्त बालाजुको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुको डेराबाट आन्तरिक राजस्व कार्यालयको जस्तै स्टाम्प, लेटरप्याड, रसिद र परिचयपत्र भेटिएको प्रहरीले बताएको छ । उनीहरुविरुद्ध ठगी र कीर्तेसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया