दुबईमा एयर इन्डिया एक्सप्रेसको विमानभित्र सर्प भेटिएपछि…
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर

काठमाडौं, २५ मंसिर (एजेन्सी) । दुबईमा एयर इन्डिया एक्सप्रेसको विमानमा सर्प भेटिएको छ । शनिबार दुबई विमानस्थलमा विमानको सामान राख्ने स्थानमा सर्प भेटिएको हो ।

समाचार एजेन्सी पीटीआईको रिपोर्ट अनुसार बी७३७–८०० विमान केरलाको कालीकटबाट दुबई पुगेको थियो, जहाँ विमानको ब्यागेज क्षेत्रमा सर्प भेटिएको थियो । विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको छ ।

विमानमा सर्प भेटिएपछि भारतको नागरिक उड्डयन महानिर्देशनालयले घटनाको छानबिन गर्न आदेश दिएको छ ।

जहाजभित्र सर्प भेटिएकोबारे जानकारी दिँदै नागरिक उड्डयन महानिर्देशनालयका एक अधिकारीले भने, ‘यो ग्राउण्ड ह्यान्डलिङका क्रममा भएको गल्तीको परिणाम हो । घटनाको छानबिन गरी आवश्यक कारबाही गरिनेछ ।’

तर, एयर इन्डिया एक्सप्रेसले घटनाबारे केही जानकारी दिएको छैन । उनका अनुसार सर्प निकाल्न एयरपोर्टको फायर सर्भिसलाई बोलाइएको थियो ।

प्रतिक्रिया