गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल वायुसेवा निगमको तयारी
अखबार टुडे
प्रकाशित:
२०७९, २५ मंसिर

काठमाडौं, २५ मंसिर । नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ ।

निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो ।

निगम प्रवक्ता अर्चना खड्काले मलेसिया र कतार उडानका साथै भारत, बर्मा, बङ्गलादेश, बैङ्ककलगायतमा ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको जानकारी दिइन् । उनकाअनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौंबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौं अवतरण गर्नेछ ।

नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले सुरुमा मलेसियामा साताको एउटा र कतारमा साताको दुई वटा उडान गर्ने योजना बनाएको बताए । आगामी दिनमा माग भए उडान संख्या बढाउन सकिने उनको भनाइ छ ।

निगमले आउँदो पुस ४ देखि भैरहवा विमानस्थलमा ‘टच डाउन’ गर्दै यी दुई गन्तव्यमा व्यावसायिक उडान गर्नेछ । हाल भैरहवा विमानस्थलबाट कुवेतको जजिरा एयरवेज र नेपालको हिमालय एयरलाइन्सले व्यावसायिक उडान गर्दै आएका छन् ।

प्रतिक्रिया