भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दैछ : प्रधानमन्त्री देउवा
अखबार टुडे
प्रकाशित:
२०७९, २३ मंसिर

काठमाडौं, २३ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टाचार नियन्त्रण चुनौतीपूर्ण बन्दै गएको बताएका छन् ।

भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आज शुक्रवार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले भ्रष्टाचारका बहुआयामिक स्वरूप, कारण र प्रभाव हुने भन्दै यसको नियन्त्रण दिनानुदिन चुनौतीपूर्ण बन्दै गइरहेको बताएका हुन् ।

उनले भ्रष्टाचारविरुद्धको अभियानमा राज्यका सबै संयन्त्र, अदालत, नागरिक समाज र सञ्चार क्षेत्रलगायतको भूमिका र सक्रियता आवश्यक रहेको बताए ।

उनले भने, ‘भ्रष्टाचारलाई कडाइका साथ नियन्त्रण गरी स्वच्छ, स्वस्थ र विकिसित समाज निर्माण्को लागि हामी सबै प्रतिवद्ध हुन आवश्यक छ । भ्रष्टाचारजन्य गतिविधि हुन नदिन राज्यका सबै तहमा कडाइका साथ कानुनको पूर्ण पालना गर्न निर्देशन गर्दछु । भ्रष्टाचार नियन्त्रणसम्बन्धी कानुनमा आवश्यक सुधार गरी अघि बढ्न सरकार प्रतिबद्ध छ ।’

समाजको कलङ्कको रूपमा रहेको भ्रष्टाचारलाई नियन्त्रण गर्न, भ्रष्टाचारजन्य गतिविधिबाट टाढा रहन र भ्रष्टाचारजन्य कार्यका विरुद्धमा आवाज मुखरित गरी सदाचार कायम गर्न आवश्यक भएको पनि बताए । प्रधानमन्त्री देउवाले भ्रष्टाचार नियन्त्रणमा आउँदा दिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग थप क्रियाशील रहने विश्वास व्यक्त गरे ।

भ्रष्टाचारविरुद्धको संयुक्त राष्ट्र सङ्घीय महासन्धि पारित भएको डिसेम्बर ९ तारिखका दिनलाई हरेक वर्ष विश्वभर नै विभिन्न कार्यक्रम आयोजना गरी भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ ।

प्रतिक्रिया