उपत्यकामा मेलम्चीको पानी तेस्रोपटक पुनः वितरण सुरु, कहाँ-कहाँ वितरण हुँदैछ ?
अखबार टुडे
प्रकाशित:
२०७९, २३ मंसिर

काठमाडौं, २३ मंसिर । काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी तेस्रोपटक पुनः वितरण सुरु भएको छ । शुक्रवार खानेपानीमन्त्री उमाकान्त चौधरीले मेलम्चीको खानेपानी पुनः वितरण शुभारम्भ गरेका हुन् ।

शुभारम्भ कार्यक्रममा बोल्दै उनले काठमाडौंवासीलाई १२ महिना नै अस्थायी रुपमा भए पनि पानी खुवाउने प्रतिवद्धता जनाए । आयोजना कार्यान्वयन निर्देशनालयले अस्थायी संरचनाबाट सुन्दरीजलमा पानी ल्याएर उपत्यकाका १० वटा ट्यांकीबाट ५ करोड ८३ लाख लिटर पानी वितरण गरेको छ ।

जसअनुसार महांकाल पानी पोखरीबाट ८५ लाख लिटर, ललितपुर खुमलटार नयाँ पोखरीबाट १ करोड ९० लाख लिटर, बालाजु पुरानो पोखरीबाट ३६ लाख, कीर्तिपुर नयाँ पोखरी ६० लाख, टिगानी मध्यपुर थिमी नयाँ पोखरीबाट ३० लाख, कटुञ्जे भक्तपुर नयाँ पोखरीबाट ६० लाख, बाँसबारी महाराजगञ्ज पुरानो पोखरीबाट २० लाख, पानी पोखरी महाराजगञ्ज नयाँ पोखरीबाट ४५ लाख, मिनभवन पुरानो पोखरीबाट ३० लाख लिटर र अनामनगर पुरानो पोखरीबाट २७ लाख लिटर गरी कुल ५ करोड ८३ लाख लिटर पानी वितरण हुनेछ ।

आयोजनाबाट उपलब्ध हुने उक्त पानी काठमाडौं महानगर, गोकर्णेश्वर, बूढानीलकण्ठ नगरपालिका, ललितपुर महानगरपालिका, कीर्तिपुर, भक्तपुर, मध्यपुर थिमि, टोखा, तारकेश्वर नगरपालिकाको कार्यक्षेत्रभित्र प्रथम चरणमा २४ सै घण्टा आलोपालो वितरण गरिने केयूकेएलका उप कार्यकारी अधिकृत ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का अनुसार हाल काठमाडौं उपत्यकामा खानेपानीको माग दैनिक ४३ करोड लिटर रहेको छ ।

प्रतिक्रिया