भ्रष्टाचारविरुद्धको दिवस आज : नेपाल अति भ्रष्टाचार हुने देशको सूचीमा
अखबार टुडे
प्रकाशित:
२०७९, २३ मंसिर

काठमाडौं, २३ मंसिर । आज भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस ‘भ्रष्टाचारविरुद्ध एकता’ भन्ने नाराका साथ विश्वभर मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घ ले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर हरेक वर्ष डिसेम्बर ९ तारिखमा यो दिवस मनाउने गरिन्छ ।

तर भ्रष्टाचार हुन नदिने भनिए पनि नेपालमा भ्रष्टाचार मौलाउँदो छ । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलको सन् २०२१ का प्रतिवेदन अनुसार नेपाल १ सय १७ औँ स्थानमा छ ।

१ सय ८० देशमा गरिएको सर्वेक्षणमा नेपालले १०० पूर्णाङ्कमा जम्मा ३३ अङ्क प्राप्त गरेको छ । ५० भन्दा कम अङ्क पाउने देशलाई अति भ्रष्टाचार हुने देशको सूचीमा राखिन्छ ।

सुशासन कायम गर्ने मामिलामा सरकारी प्रयास असफल रहेको ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले जनाएको छ । सरकारी कार्यालय भ्रष्टाचार हुने प्रमुख क्षेत्रका रुपमा रहेका छन् ।

दिवसका अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले भ्रष्टचार रोकथामका लागि नेपालले गर्नुपर्ने नीतिगत, कानुनी सुधारलगायतका विषयलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रतिक्रिया