फिफा विश्वकप- क्वाटरफाइनलमा आज ब्राजिल र क्रोएसिया तथा अर्जेन्टिना र नेदरल्याण्ड भिड्दै
अखबार टुडे
प्रकाशित:
२०७९, २३ मंसिर

काठमाडौं, २३ मंसिर । कतारमा जारी फिफा विश्वकपमा आजदेखि क्वार्टरफाइनलका खेल सुरु हुँदैछ । आज साँझ पौने ९ बजे हुने खेलमा ब्राजिल र क्रोएसिया भिड्दै छन् ।

दक्षिण अमेरिकी राष्ट्र ब्राजिल विश्वकपको इतिहासमा सबैभन्दा सफल राष्ट्रिय टोली हो, जसले पाँच पटक उपाधि जितेको छ । ब्राजिल एकमात्र यस्तो टोली हो जसले फिफा विश्वकपका सबै संस्करणमा खेलेको छ । २२ औं संस्करणको विश्वकपसम्म आईपुग्दा ब्राजिलले १ सय १० खेलबाट ७४ जित र १८ हार ब्यहोरेको छ ।

ब्रजिलले अहिलेसम्म ७ पटक फाइनल खेल खेलेको छ । ब्रजिललाई हरेक पटक उपाधि जित्ने प्रत्यासी टोलीका रूपमा लिइन्छ । ब्राजिललाई चुनौती दिइरहेको टोली क्रोएसिया सन् १९९८ मा पहिलो पटक विश्वकपमा सहभागिता जनाएको थियो । पहिलो सहभागितामै उत्कृष्ट प्रर्दशन गर्दै सेमिफाइनलसम्म पुगेको थियो ।

क्रोएसियाले सेमिफाइनलमा नेदरल्यान्ड्ससँग २–१ को हार व्यहो¥यो । सन् २०१० को विश्वकपमा क्वालिफाइड समेत नभएको क्रेएसिया सन् २०१८ को उपविजेता थियो। क्रोएसियाले अन्तिम १६ मा जापानलाई पेनाल्टीमा स्तब्ध पार्दे अन्तिम १६ मा स्थान बनाएको हो ।

यस्तै आजै राति पौने एक बजे अर्जेन्टिना र नेदरल्याण्ड भिड्नेछन् । यो खेल पनि रोमाञ्चक हुने अनुमान गरिएको छ । सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणमै सहभागी युरोपेली राष्ट्र नेदरल्यान्ड्सले सन् १९७४ को विश्वकपको फाइनलमा वेस्ट जर्मनी, सन् १९७८ को विश्वकपको फाइनलमा अर्जेन्टिना र सन् २०१० को फाइनलमा स्पेनसँग पराजित भएको इतिहास छ ।

अर्को दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना सन् १९७८ र १९८६ मा भएको विश्वकपको विजेता हो। सन् १९३० मा भएको विश्वकपको पहिलो संस्करणको अर्जेन्टिना उपविजेता राष्ट्र हो । सन् १९७० को विश्वकपमा छनोट नै नभएको अर्जेन्टिनाले अहिलेसम्म विश्वकपमा ८१ खेल खेलेका छन् । जसमा ४७ जित, १० बराबरी र २४ हार ब्यहोरेको छ ।

प्रतिक्रिया