अस्थिरताको संकट टार्न कांग्रेस एमाले मिल्नुपर्छ : सुरेन्द्र पाण्डे
अखबार टुडे
प्रकाशित:
२०७९, २२ मंसिर

चितवन, २२ मंसिर । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेस एमाले मिल्नुपर्ने बताएका छन् । निर्वाचन परिणामले कुनै दलको स्पष्ट बहुमत नआएको र मुलुक थप संकटमा जाने खतरा रहेको भन्दै उनले अस्थिरताको संकट टार्न कांग्रेस एमाले मिल्नुपर्ने बताएका हुन् ।

चितवनमा पत्रकार सम्मेलनमा बोल्दै उपाध्यक्ष पाण्डेले भने, ‘मुलुकको हरेक कालखण्डमा मुख्य मुद्दा हल गर्न यी दुईदलको मुख्य भुमिका रह्यो । सरकार हुँदा होस् या बाहिर भएर पनि सहकार्य भएको छ । अस्थिरता हटाउन एमाले कांग्रेस सहमति गर्नै पर्छ ।’

देशमा संकट परेको बेलामा एमाले कांग्रेस थुप्रैपटक सहकार्य गरेको स्मरण गराउँदै उनले ठूला शक्ति मिले सत्ता बार्गेनिङको खेल नहुने बताए । पाण्डेले राजनीतिक र आर्थिक संकट बढ्ने खतरा रहेको बताउँदै सत्ता संचालनमा सहकार्य तत्काल सम्भावना नरहेको भए पनि राष्ट्रिय हितको मुद्दामा एक हुनुको विकल्प नभएको बताए ।

उनले धेरै दल मिलेर सरकार बनाउँदा हुने बार्गेनिङले प्रधानमन्त्री कमजोर हुने बताए । उनले भने, ‘कांग्रेस र एमाले अलग बने धेरै दल मिलेर सरकार बनाउनु पर्छ । सबैलाई खुशी बनाउन पर्ने हुँदा त्यसले असन्तुष्ट बढ्ने र प्रधानमन्त्री कमजोर हुन्छन् । यसैले हो अस्थिरता ल्याउने । गठबन्धनले केही गर्न सकेन भने त्यो बेला एमाले आउ सम्हाल भन्यो भने एमाले पछि हट्दैन ।’

तत्कालको परिवेशमा बाम एकता हुने सम्भावना नरहेको उनको भनाइ थियो। निर्वाचनमा स्वतन्त्र पार्टिको जीतप्रति लक्षित गर्दै यो भेलबाढी मात्र भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया